इटहरी ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ।

संघीय सरकार र गाउँपालिकाबीच ६०र४० लागत साझेदारीमा निर्माण हुन लागेको उक्त भवनको कुल लागत अनुमान ८ करोड ४५ लाख रुपैयाँ रहेको छ। निर्माण कार्य बिकेश एण्ड आयुष कोसेली जय गोविन्द जेभी निर्माण सेवा ले ५ करोड ७१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी जिम्मा लिएको छ। सम्झौता अनुसार भवन २०८४ साल असोज २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लामो समयको प्रयास र सकसपछि आफ्नै प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढ्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खुशी व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाको आफ्नै भवन नहुँदा सेवा प्रवाह प्रभावित हुँदै आएको बताउँदै नयाँ भवन निर्माणपछि सेवा अझ प्रभावकारी, सहज र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रमा देवी राई, विभिन्न वडाध्यक्षहरू, जनप्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नयाँ प्रशासनिक भवन निर्माणसँगै स्थानीयस्तरमा सेवा प्रवाहमा गुणस्तरीय सुधार आउने अपेक्षा गरिएको छ।