इटहरी । विगत २१ वर्षदेखि शिक्षा क्षेत्रमा सेवा पु¥याउँदै आएको धरान मन्टेश्वरी एकेडेमीले दुइ दिने आफ्नो २१ औँ वार्षिकोत्सव तथा १९ औँ दीक्षान्त समारोह मनाएको छ  ।

सोमबार र मंगलबार आयोजित वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा विद्यालयमा अध्ययनरत एक सय भन्दा बढी विद्यार्थीलाई दिक्षित गरिएको थियो । विद्यालयका प्रबन्ध निर्देशक दीपक अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा समापन गरिएको हो। समारोहमा विद्यार्थीहरूले गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सव तथा दीक्षान्त समारोहका अवसरमा कक्षागत उत्कृष्ट विद्यार्थी, उत्कृष्ट क्याप्टेन लगायत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । विद्यालयले यस वर्ष युकेजीको १९ औँ दीक्षान्त समारोह तथा कक्षा ५ को छैटौं दीक्षान्त प्रदान गरेको जनाएको छ । विद्यालयकी प्रधानाध्यापक मैया राई अग्रवालका अनुसार २१ वर्षदेखि सञ्चालनमा रहेको धरान मन्टेश्वरी एकेडेमीले शान्त र पारिवारिक वातावरणमा बालमनोविज्ञान अनुसार खेल्दै–सिक्दै शिक्षा प्रदान गर्दै आएको छ ।

यहाँ अतिरिक्त क्रियाकलाप, नाचगान तथा इन्डोर गेम जस्ता गतिविधिहरू पनि सञ्चालन गरिँदै आएका छन्। दक्ष तथा अनुभवी शिक्षक द्वारा पठनपाठन हुँदै आएकाले विद्यालयले अभिभावक र समुदायको विश्वास जित्न सफल भएको विद्यालयका प्रबन्ध निर्देशक दीपक अग्रवालले बताउनुभयो । विद्यालयको उन्नति र प्रगतिलाई प्रोत्साहन गर्दै आवश्यक परेको बेला प्रदेश सरकारले आवश्यक सहयोग गर्ने कुरा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारले  बताउनुभयो ।

सोमबार आन्तरिक राजस्व कार्यलय धरानका प्रमुख मौसम ढुङ्गेलको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम गरिएको थियो  । सोही अवसरमा अभिभावकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक धरानका प्रबन्धक विष्णु प्रसाद निरौला, सार्क जर्नलिस्ट फोरमका अध्यक्ष तथा चलखबर डटकमका प्रधान सम्पादक भोला श्रेष्ठ, डेन्टल सर्जन डा. श्रीजना महर्जन लगायत अभिभावक, विद्यालयका शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।