इटहरी । पथरी शनिश्चरेमा प्रजनन स्वास्थ्यसम्बन्धी आङ खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसव–फिस्टुला तथा निःसन्तानसम्बन्धी समस्याको एकीकृत व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई लक्षित तालिमको आयोजना गरिएको छ ।
मंगलबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा औपचारिक उद्घाटन गरिएको तालिम जारी छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय मोरङको समन्वयमा सञ्चालन भइरहेको उक्त तालिमको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो ।
कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा तथा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन स्वास्थ्य अधिकृत एकराज खत्रीले गर्नुभएको थियो ।
रमादेवी पौडेल, निर्मला विक र कामना गौतमले सहजीकरण गरिनुभएको उक्त तालिममा पथरी शनिश्चरे नगरपालिकासहित छिमेकी नगरपालिकाका स्वास्थ्यकर्मीहरूको समेत सहभागिता रहेको छ । तालिम चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।


