इटहरी । ताप्लेजुङमा कोशी प्रदेशस्तरीय छैटौँ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता फुङलिङ नगरपालिका –६ मा रहेको इन्द्रेणी ब्याडमिन्टन हलमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो।
जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको आयोजना तथा फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको छ। फुङलिङ नगरपालिकाको उपप्रमुख भिमादेवी ओझाको प्रमुख आतिथ्यमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा रहने सङ्घका अध्यक्ष सुरेश सिङ्घक लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेशस्तरीय मेन्स सिङ्गल, प्रदेशस्तरीय खुल्ला मिक्स डबल, जिल्लास्तरीय बी लेभल मेन्स डबल, भेट्रान्स डबल, १५ वर्षमुनिको छात्रछात्रा तथा जनपद र कर्मचारीबिच प्रतिष्पर्धा रहनेछ । प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको उत्कृष्ट खेलाडीको सहभागिता रहेको सङ्घका अध्यक्ष लिम्बूले बताउनुभयो । जिल्लाको उदयमान खेलाडीलाई प्रोत्साहन तथा सिकाइका लागि कोशी प्रदेशको उत्कृष्ट खेलाडीलाई आमन्त्रण गरी प्रतियोगिता सञ्चालन गरिएको सङ्घले जनाएको छ।
सङ्घका अनुसार प्रदेशस्तरीय मेन्स सिङ्गलतर्फको प्रथमले २५ हजार, द्वीतियले २० हजार र तृतीयले ५ हजार रुपियाँसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रदेशस्तरीय खुल्ला मिक्स डबलतर्फको प्रथमले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले ५ हजार रुपियाँ प्राप्त गर्ने भएका छन्।
जिल्ला स्तरीय बी लेभल मेन्स डबल, भेट्रान्स डबल र जनपद र कर्मचारीबिचको विजेता र उपविजेताले समान १५ हजार र १० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । १५ वर्षमुनिको छात्रछात्राका विजेतालाई प्रोत्साहनस्वरुप ६ हजार र उपविजेतालाई चार हजार रुपियाँ प्रदान गर्ने बताइएको छ।


