इटहरी।  सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगले किसानलाई चियाको न्यूनतम मूल्य प्रतिकिलो रु ४० दिनुपर्ने र किसानले ४० प्रतिशत मुनाको चिया मात्र टिप्नुपर्ने मापदण्ड थियो ।

तर अधिकांश किसान र उद्योगीले खुला बजारको माग गरेपछि नगरपालिकाको १८औँ नगर सभाको तेस्रो बैठकले उक्त ऐन संशोधन गरेको कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । नगरप्रमुख बरालले सभाले झन्झटिला र नागरिकलाई असहज हुने विभिन्न सात ऐन संशोधन गरेको बताउनुभयो । नगरपालिका क्षेत्रमा ६३ साना–ठूला चिया उद्योग रहेका छन् । पालिकाले चियाको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

नगरले यस पटक चिया क्षेत्रका समस्या समाधान गर्न १४ वटै वडाबाट किसान र उद्योगीका सुझाव लिएको थियो । साथै, नगरले चिया ऐन संशोधनका लागि स्थानीयसँग ‘अनलाइन’मार्फत पनि सुझाव माग गरेको थियो । यहाँ चिया क्षेत्रका समस्या समाधान गर्न चिया शाखा सञ्चालन गरिने भएको छ । नगरले यसअघि निर्माण गरेको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ लाई परिमार्जन गरी संघीय कानुनअनुसार सञ्चालन हुने व्यवस्था गरेको छ । सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ संशोधन गरी तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा सहजता ल्याइएको छ । सहकारी ऐन २०७५ लाई पनि संशोधन गरी सङ्घीय कानुनअनुसार हुनेगरी पारित गरिएको पालिकाका प्रवक्ता ख्याम भुजेलले जानकारी दिनुभयो ।

नगरले फोहोरमैला व्यवस्थापनका लागि स्विस सरकार, प्रदेश सरकार र स्थानीय सरकारको करिब रु २२ करोड लगानीमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने भएको वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जनले बताउनुभयो । उहाँका अनुसार नगरले जग्गा बिक्रीमा लाग्ने लाभकर र राजमार्गको सेटब्याकसम्बन्धी व्यवस्था परिमार्जनका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कोइरालाले नगरलाई पारदर्शी बनाउँदै बेरुजु शून्यमा झार्ने गरी काम भइरहेको जानकारी दिनुभयो । नगरका सूचना अधिकारी योगनिधि भट्टराईले नगरका महत्वपूर्ण कार्यक्रमहरू प्रत्यक्ष प्रसारण गर्दै पारदर्शिता कायम गरिएको जानकारी दिनुभयो ।