इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं ३ वीरेन्द्रनगरमा रहेको प्यागोडा मोडेल सेकेण्डरी इङ्लिस स्कुलले आफ्नो ३२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन सम्पन्न गरेको छ ।

शुक्रबार विद्यालयले आफ्नो विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरेको हो । पथरी शनिश्चरे वडा नं ३ का वडाध्यक्ष विजय लिम्बुको प्रमुख आतिथ्यता तथा प्रिन्सिपल रमेश कुमार कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८२ मा कक्षा ५ र ८ वाहेक अन्य कक्षाहरूबाट हरेक त्रैमासिक परीक्षामा जीपीए ४ हासिल गर्ने विद्यार्थीहरूलाई  थप हौसला र प्रेरणा प्रदान गर्न टिका ,अबिर, रुद्राक्ष माला, प्रमाणपत्र सहितले पुरस्कृत गरिएको थियो । सो अवसरमा विभिन्न तह र कक्षाका विद्यार्थीहरूले  नृत्य, गायन, नाटक लगायत आकर्षक सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए ।

विद्यालयका संस्थापक, सल्लाहकार सदस्य तथा परामर्शदाता खगेन्द्र प्रसाद लुइटेलले अभिभावक, विद्यालय प्रशासन र विद्यार्थीको बिचमा  सुमधुर सम्बन्ध कायम गर्न सकेमा मात्रै विद्यार्थीहरूलाई  समाज र राष्ट्रको एक अब्बल दर्जाको नागरिक बनाउन सकिने बताउनुभयो । हाल सम्ममा १६ औं ब्याच उतारी सकेको सो विद्यालयबाट २६ गते सम्पन्न भएको  एस. ई. ई. परीक्षामा १९ जना विद्यार्थीहरूले परीक्षा दिएको संस्थापक गोविन्द ढकालले बताउनुभयो । उक्त अवसरमा विद्यालयका २ जना शिक्षक र २ जना कर्मचारलाई विद्यालयले सम्मानित तथा पुरस्कृत गरेको  प्रिन्सिपल रमेश कुमार कोइरालाले जानकारी दिनुभयो ।