इटहरी । मोरङको पथरी शनिश्चरेमा दोस्रो सँगिनी महोत्सव –२०८२ सम्पन्न भएको छ ।

शनिबार पथरी शनिश्चरे वडा नं ३,संगम चोकमा  पथरी शनिश्चरे नगरपालिकाको सहयोग तथा श्री महिला जागरूक हरि किर्तन तथा सँगिनी समुहको आयोजनामा महोत्सव सम्पन्न भएको हो । प्रमुख अतिथि समेत रहनुभएका कोशी प्रदेश सरकारका  आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त खतिवडाले  उक्त महोत्सवको उद्घाटन गर्नुहुँदै हाम्रो देश नेपाल सबै जातजाति, भाषा भाषी, संस्कार, संस्कृति, विविध पहिचान भएका नागरिकहरूको साझा मुलुक भएको बताउनुभयो ।

सबै भाषा, साहित्य, कला ,संस्कृति, संस्कार आदि जोगाउनु स्थानीय, प्रदेश र संघीय तहका सरकारहरूको महत्वपूर्ण जिम्मेवारी सहित भूमिका रहने उल्लेख गर्नुभयो । श्री महिला जागरुक किर्तन तथा संगिनी समूहकी अध्यक्ष देवीमाया पोखरेल लुइटेलको सभाध्यक्षमा सम्पन्न भएको उक्त महोत्सवमा संगिनी नृत्य संरक्षणमा विशेष भूमिका निर्वाह गर्नुहुने संस्थाकी संस्थापक अध्यक्ष रेणुका देवी काफ्ले र लामो समयदेखि संचार माध्यमहरूबाट संगिनी नृत्यबारे महत्त्वपूर्ण भूमिका र योगदान पुर्याउनुहुने सञ्चारकर्मी तथा साहित्यकार भूपेन्द्रराज तिम्सिनालाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो। 

महोत्सवमा पथरी शनिश्चरे नगरभित्रका दीर्घायु, शान्ति, ज्ञानकुञ्ज, गणपति, देवी , महिला जागरण जागरुक हरि किर्तन लगायतका विभिन्न संगिनी समूहहरूले आफ्ना सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्नुभएको थियो।   शिक्षासेवी तथा समूहका सल्लाहकार युवराज बास्कोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको सो समारोहमा पथरी शनिश्चरे वडा नं १ का वडाध्यक्ष भीमकुमार राई, वडा नम्बर ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार चेम्जोङ , खिलानाथ घिमिरे, लगायतको उपस्थिति रहेको थियो।