इटहरी । गुम्बा डाँडा सामुदायिक होमस्टेका सञ्चालकलाई एक महिने निःशुल्क कुक तालिम दिइएको छ ।
होमस्टेमा आबद्ध २४ जना सञ्चालकलाई निःशुल्क एक महिने कुक तालिम दिइएको हो । सामुदायिक होमस्टेको व्यवस्थापनमा पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगबाट एक्सपर्ट टेक्निकल कलेज सुनसरीले ३० दिने कुक तालिम दिएको तालिम समापन भएको छ ।
फुङलिङ नगरपालिका(६ मा रहेको होमस्टेका सञ्चालकलाई स्वादिष्ट खाना तथा खाजाका परिकार तयार गर्न मात्र नभई पाहुनाको स्वागत–बिदाइ, व्यवस्थापन साथै सरसफाइका विषयमा समेत अध्यापन गराइएको प्रशिक्षक प्रवेश राजधामीले बताउनुभयो । होमस्टेका अध्यक्ष मणिराज गुरुङका अनुसार सञ्चालकलाई दैनिक ६ घण्टा तालिम प्रदान गरिएको थियो ।
स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरूलाई स्वादिष्ट बनाई होमस्टेप्रति नागरिकको आकर्षण बढाउने योजनासहित कुक तालिम प्रदान गरिएको बताइएको छ । फुङलिङ बजारदेखि करिब ४ किलोमिटरको दूरीमा रहेको होमस्टेमा आन्तरिक तथा बाहय पर्यटक अड्याउन दिइएको तालिमले वडावासीको आर्थिक आम्दानीमा थप टेवा पुग्ने सोही वडाका वडाध्यक्ष मदन गुरुङले विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षार्थीलाई तालिम अवधि भरि सिकेको सीपलाई कार्यान्वयन गर्न आग्रह गर्दै प्रमाण पत्र समेत प्रदान गरिएको छ ।


