इटहरी । ‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन–३’ को उपाधि कक्षा–१० मा अध्ययनरत जनता माध्यमिक विद्यालय, बराहक्षेत्र–३ नडाहाकी सीमा मादेनले जित्नुभएको छ ।
श्निबार सम्पन्न प्रतियोगिताको फाइनल चरणमा नौ प्रतिस्पर्धीलाई पछि पार्दै मादेन विजेता बन्न सफल हुनुभएको हो । प्रतियोगितामा उपविजेता युनिशा देउजा (राजाबास इङ्लिस बोर्डिङ स्कुल), तृतीय इनुष्का गौतम (बराहाराइजिङ इङ्लिस स्कुल) र सान्त्वना प्रकृति यादव (मोहन माध्यमिक विद्यालय) भएका छन् । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३ सुनसरीद्वारा विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा मदन पुरस्कार विजेता साहित्यकार डा. नवराज लम्साल उपस्थित हुनुभएको थियो ।
कार्यक्रममा उहाँले बोल्नुहुदै कविता लेखन धैर्य, अनुशासन र अग्रजप्रतिको सम्मानबाट परिपक्व हुने बताउनुभयो । विजेता सीमा मादेनले नगद रु. १० हजारसहित प्रमाणपत्र, मेडल, ट्रफी र पुस्तक प्राप्त गर्नुभयो । उपविजेता, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरूले क्रमशः रु. ५ हजार, ३ हजार र २ हजारसहित प्रमाणपत्र, मेडल र पुस्तक प्राप्त गरेका थिए ।
उक्त कार्यक्रममा पुर्वेली साहित्यिक मञ्चद्वारा आयोजित कोसी प्रदेशस्तरीय कविता प्रतियोगितामा पुरस्कृत मिलन नायक र कवि विमल स्मृति राष्ट्रिय कविता महोत्सव –२०८२ मा पुरस्कृत कवि दीपा मग्रातीलाई दोसल्ला ओढाउदै सम्मानपत्र र नगदसहित सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार, नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य रामप्रसाद खरेल, शिक्षा शाखा प्रमुख उत्तम भारती लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव सविता फागो चोङबाङले गर्नुभएको थियो् भने सभाध्यक्ष समाजका अध्यक्ष शरणकुमार लिम्बु रहनुभएको थियो ।


