इटहरी । सुनसरीको धरान–१६ स्थित सिटी मोन्टेसरी चिल्ड्रेन्स हाउस एण्ड ट्रेनिङ सेन्टर द्वारा आयोजित १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ । 

कार्यक्रम शुक्रबार याखा भवनमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो । फ्रम जेन्टल बेगिनिङस टु कन्फिडेन्ट स्टेपस भन्ने भावनात्मक सन्देशसहित आयोजित कार्यक्रममा साना बालबालिकाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गरेका थिए । कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन, विभिन्न प्रयोगात्मक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत दर्शकहरूको मन जितेका थिए ।

दीक्षान्त समारोहअन्तर्गत उत्तीर्ण विद्यार्थीहरूलाई पदक प्रदान गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने, १०० प्रतिशत हाजिरी कायम गर्ने तथा सफा–सुन्दर विद्यार्थीहरूलाई समेत पुरस्कार र सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । मारोहमा प्रमुख अतिथिका रूपमा शिक्षा विभाग प्रमुख धुर्वराज खड्का सहभागी हुनुभएको थियो भने कार्यक्रमको सभापतित्व बोर्ड अफ डाइरेक्टर ज्ञानदीप लिम्बु ले गर्नुभएको थियो ।

त्यस्तै, विशेष अतिथिका रूपमा सुनाखरी एकेडेमी प्लस टु का प्रिन्सिपल मिलन राई तथा बुद्ध आदर्श बोर्डिङ स्कुल का प्रिन्सिपल दिलीप योगी को उपस्थिति रहेको थियो । बालबालिकाको समग्र विकास, आत्मविश्वास अभिवृद्धि तथा सिर्जनात्मक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले अभिभावक तथा समुदायलाई सकारात्मक सन्देश दिएको आयोजकको भनाइ छ । उक्त कार्यक्रममा आयोजक संस्थाकी निर्देशक ओमु राई तथा विद्यालय परिवारका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो ।