इटहरी । भोजपुरको मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिकाको पर्यटकीय स्थल चखेवामा ‘रैथाने खाना महोत्सव’ चैत ३० गतेदेखि आयोजना गरिने महोत्सवको तयारी पूरा भएको छ ।
महोत्सव २०८२ चैत्र ३० गतेदेखि २०८३ बैशाख २ गतेसम्म स्थानीय रैथाने परिकार, कृषी उत्पादनको प्रवद्र्धन, बजारिकरण र मुन्दुम पदमार्ग पर्यटनको परिचय गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष विवेक कुलुङका अनुसार महोत्सवमा पर्यटकले यहाँका विशिष्ट रैथाने परिकारहरूको स्वाद अनुभव गर्ने अवसर पाउनेछन्।
महोत्सवमा परम्परागत खानाका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । पर्यटकले यहाँको प्रकृति, सांस्कृतिक परम्परा र अतिथि सत्कारको अनुभवसँगै स्थानीय जीवनशैली पनि नजिकबाट बुझ्ने अवसर पाउने छन् । टेम्केमैयुङ गाउँपालिकाले महोत्सवमार्फत स्थानीय किसान, उद्यमी र व्यवसायीलाई प्रोत्साहन दिने लक्ष्य राखेको छ । यसले स्थानीय उत्पादनको बजार विस्तार गर्ने मात्र नभई, पर्यटकलाई यहाँको सांस्कृतिक र प्राकृतिक सम्पदासँग परिचित गराउन सहयोग पुग्ने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
यस अवधिमा खानपानमा मात्र सीमित नभई, स्थानीय उत्पादन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम विभिन्न पर्यटकीय गतिविधिहरू पनि सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सव टेम्केमैयुङ गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालन गर्न लागिएको हो । महोत्सवले स्थानिय समुदायको सांस्कृतिक, परम्परा, रहनसहनलाईसमेत उजागर गर्ने आयोजकको भनाइ छ ।


