इटहरी । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा “नवौं मेयर भोजपुर गोल्डकप पुरुष फुटबल प्रतियोगिता” सञ्चालन हुने भएको छ ।
प्रतियोगिता आगामी वैशाख ६ गतेदेखि १२ गतेसम्म भोजपुर रंगशालामा आयोजना हुने जनाइएको छ । प्रतियोगितामा विजेता टोलीले नगद ५ लाख र उपविजेताले ३ लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई समेत व्यक्तिगत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सातदोबाटो युथ क्लब (ललितपुर), एपीएफ क्लब (काठमाडौं), प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौं), एल.बी.एस सिटी (मोरङ), संखुवासभा ११ (संखुवासभा), केपिलासगढी गाउँपालिका (खोटाङ), द गोरखा फुटबल एकेडेमी (उदयपुर) तथा आयोजक भोजपुर जिल्ला फुटबल संघ सहभागी रहनेछन् ।
विदेशी खेलाडी सहभागी गराउँदा सम्बन्धित टोलीले अनिवार्य रूपमा वर्क परमिट पेश गर्नुपर्ने प्रावधान राखिएको छ । अन्यथा त्यस्ता खेलाडीलाई प्रतियोगितामा समावेश नगरिने आयोजकको भनाइ छ ।


