इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा अवस्थित हिमालय इङ्ग्लिस स्कुलले शिक्षा क्षेत्रमा पु¥याउँदै आएको निरन्तर योगदान, मेहनत र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धताको कदरस्वरूप ‘राइजिङ स्कुल अवार्ड २०२६’ प्राप्त गरेको छ ।
यो सम्मानले विद्यालयले वर्षौंदेखि निर्माण गर्दै आएको शैक्षिक पहिचान र विश्वासलाई अझ सशक्त बनाएको छ । काठमाडौँको सिनामंगलस्थित बेष्ट वेस्टन प्लस होटलमा सम्पन्न समारोहमा ‘शिक्षा उत्कृष्टता अवार्ड २०२६’ अन्तर्गत हिमालय इङ्ग्लिस स्कुललाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रम एजुकेशन दैनिक र एक्जिटो एजुकेशन लगायतका संस्थाहरूको सहकार्यमा आयोजना गरिएको थियो, जसमा देशभरका विभिन्न शैक्षिक संस्थाहरूको उपस्थिति रहेको थियो।
अवार्ड विद्यालयका संस्थापक प्रीन्सिपल तथा कोशी प्रदेश नेसनल प्याब्सनका अध्यक्ष कमल खनालले ग्रहण गर्नुभयो । विद्यालयले वर्षौंदेखि गुणस्तरीय शिक्षण, विद्यार्थीको व्यक्तित्व विकास, संस्कारयुक्त वातावरण र आधुनिक शैक्षिक प्रविधिको प्रयोगमा विशेष जोड दिँदै आएको छ। यही निरन्तरको प्रयास, शैक्षिक निष्ठा र भविष्यप्रतिको स्पष्ट दृष्टिकोणका कारण हिमालय इङ्ग्लिस स्कुलले समुदायमा विश्वासिलो शैक्षिक संस्थाको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्ले उपस्थित हुनुभएको थियो ।
त्यसैगरी जेभियर एकेडेमीका अध्यक्ष प्रा. डा. श्रीराम भगत माथे लगायतका शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो। वक्ताहरूले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि, नवीन सोच र जिम्मेवार शैक्षिक नेतृत्वको आवश्यकता औंल्याउँदै हिमालय इङ्ग्लिस स्कुलको उपलब्धिलाई उदाहरणीय भन्दै प्रशंसा गरेका थिए । ‘राइजिङ स्कुल अवार्ड २०२६’ प्राप्तिसँगै हिमालय इङ्ग्लिस स्कुलले शिक्षा क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।


