इटहरी । झापाको दमकमा सशस्त्र प्रहरीका सहायक हवल्दारले चलाइरहेको मोटरसाइकलमा एक्कासि आगलागी भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–८ स्थित नेम्वाङ ड्राइभिङ सेन्टरअगाडि प्र १–०२०५२ प ८५७३ नम्बरको कालो रंगको बुलेट मोटरसाइकलमा मंगलबार दिउँसो करिब १२ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भद्रपुरबाट सुनसरीको इटहरीतर्फ आउँदैै गरेका बेला मोटरसाइकलमा अचानक आगो लागेको हो ।
उक्त मोटरसाइकल सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म भद्रपुरमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार गणेश जिमीले चलाउनुभएको थियो । आगलागीबाट मोटरसाइकल पूर्णरूपमा जलेर नष्ट भएको छ । यद्यपि संखुवासभाको मादी नगरपालिका–३ घर भएका जिमी भने सकुशल रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, दमकल तथा स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । मोटरसाइकलमा आगलागी हुनुको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


