इटहरी । पर्यटन प्रवर्दनका लागि नयाँ वर्षको पहिलो दिन सखुवासभाको सिलिचोङमा भएको सिलिचोङ ट्रेल रेसमा चिचिलाका नारद राई पहिलो भएका छन् । उनले ४२.२ किलोमिटर दुरी ६ घण्टा २६ मिनेटमा पूरा गरेका हुन् । यस्तै, सिलिचोङका प्रसान राईले ६ घण्टा २७ मिनेटमा दुरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे । तेस्रो स्थानमा भोजपुरका बिजयबहादुर तामाङ रहे । उनले सो दुरी ६ घण्टा ३७ मिनेटमा पार गरेका हुन् । सिलिचोङ गाउँ खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा सिन्धुली, खोटाङ, उदयपुर, भोजपुर र संखुवासभा जिल्लाका समेत ४७ जना प्रतिस्पर्धी सहभागी भएका थिए । खाँदबारीको टुडिखेलबाट शुरू भई सिलिचोङ गाउपालिकाको ताम्कुसम्म ४२. २ किलोमिटर दुरी रहेको थियो । प्रतियोगितामा शीर्ष तीन हुने विजेताहरूलाई क्रमशः २५ हजार, १५ हजार, र ७ हजार नगद प्रदान गरिएको थियो । प्रतियोगिता सिलिचोङ क्षेत्रको पहिचान अझै बढाउने र खेलकुद प्रवद्र्धन गर्दै पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको बताईएको छ ।


