इटहरी । सुनसरीको इटहरी–९ मा अवस्थित पर्फेक्ट एकेडेमीले शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्दै नयाँ उचाइ चुम्न सफल भएको छ। वि.सं. २०७१ सालमा स्थापना भएको यस विद्यालयले हालसम्म कक्षा ८ सम्म अध्यापन गराउँदै आएकोमा २०८३ शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
अभिभावकहरूको बढ्दो विश्वास र मागलाई मध्यनजर गर्दै विद्यालयले माथिल्लो कक्षा सञ्चालनको तयारी थालेको हो। विद्यालयले परम्परागत शिक्षासँगै योग, प्राणायाम र ध्यानलाई विशेष प्राथमिकता दिँदै आएको छ। मान्यता प्राप्त प्रशिक्षकहरूबाट दैनिक रूपमा योग तथा प्राणायाम गराइने व्यवस्था मिलाइएकाले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा उल्लेखनीय सफलता मिलेको विद्यालयको दाबी छ।
हालै सम्पन्न नगर स्तरीय कक्षा ५ र कक्षा ८ को परीक्षामा पर्फेक्ट एकेडेमीका सम्पूर्ण विद्यार्थीहरूले A+ ग्रेड ल्याउन सफल भएपछि विद्यालयको शैक्षिक छवि अझ मजबुत बनेको छ। यस सफलताले विद्यालयलाई इटहरीकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा स्थापित गरेको अभिभावकहरूको भनाइ छ।
विद्यालयका प्रधानाध्यापक रामकुमार गिरीले विद्यालयको सफलता निरन्तर मेहनत, अनुशासन र गुणस्तरीय शिक्षाको प्रतिफल भएको बताए।
“हामीले किताबको ज्ञानसँगै जीवन उपयोगी शिक्षा, योग र अनुशासनलाई जोड दिएका छौं। यही कारण नगरस्तरीय परीक्षामा सम्पूर्ण विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याएका हुन्। अब कक्षा ९ सञ्चालनसँगै अझ उत्कृष्ट शैक्षिक वातावरण दिने हाम्रो लक्ष्य छ,” प्रधानाध्यापक रामकुमार गिरीले बताउनुभयो।
त्यस्तै विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुष्मा गिरीले अभिभावकहरूको विश्वास नै विद्यालयको सबैभन्दा ठूलो शक्ति भएको बताइन्।
“अभिभावकहरूको चाहना र विश्वासका कारण हामी कक्षा ९ सञ्चालनको तयारीमा पुगेका छौं। पर्फेक्ट एकेडेमीलाई शैक्षिक उत्कृष्टताको नमूना विद्यालय बनाउने हाम्रो प्रतिबद्धता छ,” अध्यक्ष सुष्मा गिरीले बताइन्।
शिक्षासँगै नैतिक मूल्य, योग, ध्यान र अनुशासनमा जोड दिँदै आएको पर्फेक्ट एकेडेमीले आगामी दिनमा अझ उत्कृष्ट नतिजा दिने अपेक्षा गरिएको छ।



