इटहरी । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले आँखा स्वास्थ्य सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्य सहित ’डिजिटल ट्रेनिङ हब’ डी.टी.एच.को औपचारिक शुभारम्भ गरेको छ  ।

बिहीबार अस्पतालको सम्मेलन हलमा आयोजित एक विशेष समारोहका बीच यस नवनिर्मित केन्द्रको उद्घाटन गरिएको हो । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा  ओर्बिस इन्टरनेशनलकी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत क्याथलिन ए. शेरविन विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञ र सरोकारवालाहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा डिजिटल ट्रेनिङ हबको अवधारणा, यसको आवश्यकता र भविष्यमा पर्ने सकारात्मक प्रभावबारे गहन छलफल गरिएको थियो। खास गरी, ओर्बिस इन्टरनेशनल  भारत कार्यालयका कन्ट्री डाइरेक्टर डा. ऋषि बोरा, मेडिकल सुपरिन्टेन्डेन्ट डा. ललित अग्रवाल र तालिम विशेषज्ञ प्राची अग्रवालले डिजिटल प्लेटफर्मको उपयोगिता र दक्ष जनशक्ति उत्पादनमा यसले खेल्ने भूमिकाबारे प्राविधिक प्रस्तुति दिनुभएको थियो। 

डिजिटल माध्यमबाटै स्मारक पट्टिका अनावरण गरी केन्द्रको समुद्घाटन गरिएको थियो । मन्तव्यका क्रममा विशिष्ट अतिथि क्याथलिन ए. शेरविनले यस पहलले नेपालको आँखा स्वास्थ्य सेवालाई विश्वस्तरीय बनाउन मद्दत पुग्ने बताउनुभयो। त्यस्तै, नेपाल नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष प्रा. डा. चेतराज पन्त र जिल्ला सभापति राजन श्रेष्ठले यो हबले दुर्गम क्षेत्रसम्म गुणस्तरीय सेवा विस्तार गर्न र दक्ष चिकित्सक एवं प्राविधिक उत्पादन गर्न ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मा नारायण चौधरीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । यस डिजिटल ट्रेनिङ हबको स्थापनासँगै नेपाल अब आधुनिक र प्रविधिमैत्री आँखा स्वास्थ्य सेवाको नयाँ युगमा प्रवेश गरेको छ ।