धनकुटा । जिल्ला स्तरीय सोह्रौँ राष्ट्रपति रनिङशील प्रतियोगिता धनकुटामा भव्य रुपमा सुरु भएको छ। खेलकुद विकास समिति धनकुटाको आयोजनामा, साँघुरीगढी गाउँपालिकाको व्यवस्थापन तथा भानु माध्यमिक विद्यालय डाँडागाउँको संयोजनमा सञ्चालन भएको दुई दिने प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

IMG-20260417-WA0041

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री पराजुलीले खेलकुद राष्ट्रको गौरवसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै युवाहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले प्रतिभाशाली खेलाडी उत्पादन गर्न मात्र नभई अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। “सरकारले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक नीति, पूर्वाधार र अवसरहरू विस्तार गर्दै जानेछ,” उहाँले भन्नुभयो, “स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म खेलकुदलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ।”

IMG-20260417-WA0043 1

कार्यक्रम खेलकुद विकास समिति धनकुटाका कार्यालय प्रमुख नवीन प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगितामा धनकुटा जिल्लाका सातै स्थानीय तहबाट आएका खेलाडीहरूले उत्साहजनक सहभागिता जनाएका छन्, जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाएको छ।

IMG-20260417-WA0077

उद्घाटन कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुखहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ, महालक्ष्मी नगरपालिकाका प्रमुख धुर्व राय, पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, आयोजक साँघुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई लगायतले खेलकुदमार्फत युवालाई सही दिशामा अगाडि बढाउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा राख्नुभयो।

Screenshot_2026-04-17-20-46-07-28_6012fa4d4ddec268fc5c7112cbb265e7

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेल, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

IMG-20260417-WA0068

प्रतियोगितामा छात्र छात्रा भलिबल साथै एथलेटिक्स, मार्सल आर्ट्स, कबड्डी, लगायत विभिन्न विधाका खेलहरू समावेश गरिएका छन्। सहभागी खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत जिल्ला तथा प्रदेश स्तरमा पहिचान बनाउने अवसर प्राप्त गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिता खेलकुद क्षेत्रको विकाससँगै युवामा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी आगामी प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाइने अपेक्षा गरिएको छ। कार्यक्रम सञ्चालन भानु माध्यमिक विद्यालय डाँडाबजारका शिक्षक दीपक भुजेलले गर्नुभएको थियो।