इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको “सयवृक्ष” रुखको अध्ययनका लागि स्थलगत अवलोकन गरिएको छ ।
गाउँपालिकाको पहलमा वन मन्त्रालय अन्तर्गत वनस्पति विभागबाट खटिएको वनस्पति विज्ञसहितको टोलीले शुक्रबार उक्त स्थानमा पुगेर अवलोकन गर्नुका साथै आवश्यक नमुना संकलन गरेको हो । अवलोकनको क्रममा रुखको वैज्ञानिक नाम र उमेर पत्ता लगाउने उद्देश्यले काठको नमुना लगायत आवश्यक सामग्री संकलन गरिएको छ ।
संकलित नमुनाको प्रयोगशाला परीक्षणपछि विस्तृत जानकारी सार्वजनिक गरिने राष्ट्रिय हार्वेरियम तथा वनस्पति प्रयोगशालाका अनुसन्धान अधिकृत तिर्थराज पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर ३ सिन्द्राङमा रहेको उक्त रुख गत चैत २ गते आएको हावाहुरीका कारण ढलेको हो । धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको यो वृक्ष ढल्दा स्थानीयस्तरमा ठूलो क्षति पुगेको पालिका अध्यक्ष प्रेमकुमार राईले बताउनु भयो ।
सयौं वर्ष पुरानो मानिएको यस वृक्षमा मौसम अनुसारका पालुवाहरु पलाउने गरेको स्थानीयको भनाइ छ । निर्माणाधिन बृहत् मुन्दुम पदमार्गको एक गन्तव्य बनाउने योजना रहेतापनी हावाहुरीका कारण उक्त योजना अधुरो रह्यो । यधपी ढलेको रुखको संरक्षण र यसको ऐतिहासिक पहिचान कायम राख्न थप अध्ययन र पहल आवश्यक देखिएको छ ।


