इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी क्षेत्र नम्बर ३ सांसद अशोक कुमार चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकका समस्या र गुनासा प्रत्यक्ष रूपमा सुन्न तथा समाधानको पहल गर्न सचिवालय कार्यालय सञ्चालनमा ल्याउनुभएको छ ।

सुनसरीको दुहबीमा दुई कोठे भवन भाडामा लिएर सचिवालय कार्यालय सञ्चालन गरिएको हो। बिहीबार रिबन काटेर सांसद चौधरीले कार्यालयको उद्घाटन गर्नुभएको हो। उहाँका अनुसार जनताका गुनासा, समस्या र सुझाव संकलन गरी समाधानका लागि पहल गर्ने उद्देश्यले कर्मचारी राखेर कार्यालय सञ्चालन गरिएको हो।

सचिवालय मार्फत नागरिकका समस्या व्यवस्थित रूपमा टिपोट गरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। कार्यालय सञ्चालनका क्रममा सुनसरी क्षेत्र नम्बर ३ का स्थानीय बासिन्दाले आफ्ना विभिन्न गुनासा तथा समस्याहरू प्रस्तुत गरेका थिए ।

ती समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको सांसद चौधरीले बताउनुभयो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी, कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।