काठमाडौं । चलचित्र ‘परालको आगो’ आजबाट प्रदर्शनमा आएको छ । देशभर सयभन्दा माथि शो संख्या पाएको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।
सौगात मल्ल, प्रकाश सपूत र सुहाना थापा मुख्य भूमिकामा रहेको चलचित्रलाई लक्षण सुनारले निर्देशन गरेका छन् । गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ कथामा यो सिनेमा बनेको हो । सामाजिक ग्रामीण कथा उठान गरेको सिनेमाले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त छ ।
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा प्रकाश, सौगात र सुहानाका साथमा सृजना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय देख्न सकिनेछ ।
यस चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको चलचित्रमा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।
४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले यही कथा र शीर्षकमा चलचित्र बनाएका थिए ।


