इटहरी । सुनसरीको श्री प्रकाश माध्यमिक विद्यालयका पूर्वविद्यार्थीद्वारा स्थापित श्रीवृद्धि कोषबाट ६१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

सात वर्षअगाडि पूर्वविद्यार्थीद्वारा स्थापित गरिएको कोषबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । पूर्वविद्यार्थीहरुले विद्यालयको श्रीवृद्धिको लागि सङ्कलन गरिएको १५ लाख रकमबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिदैँ आएको कोषको अभियान्ता अर्जुन बुढाथोकीले बताउनु भयो । विद्यालयकै स्वामितोमा रहनेगरी कोष स्थापना गरेर राखिएको रकमबाट प्राप्त हुने ब्याजबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिदैँ आएको जनाइएको छ ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिले अध्ययनमा प्रेरित गरेको विद्यालयले जनाएको छ । छात्रवृत्ति वितरणले विद्यार्थीमा अनुशासित, जेहेनदार र पढाइमा हौसला मिल्ने हुँदा छात्रवृत्तिले विद्यालयको शैक्षिक गुणस्तरमा समेत सहयोग पुग्ने विद्यालयका शिक्षक शिवप्रसाद निरौलाले बताउनु भयो । पूर्वविद्यार्थीले विद्यालय र विद्यार्थीको हितका लागि स्थापना गरेको कोषले कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई छनोटका आधारमा वितरण गर्दै आएको बताइएको छ ।

शैक्षिक सत्र २०८२ मा छात्रवृत्तिका लागि छनोट गरेका ६१ जना विद्यार्थीलाई  गर्दै आएको मा अध्ययनरत एक लाख १२ हजार रकम वितरण गरिएको कोष अभियान्ता प्रतिनिधि राममणि आचार्यले बताउनु भयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको अध्यक्षतामा बनेको सात सदस्यीय छनोट समितिमा व्यवस्थापन समितिका सदस्य, शिक्षक र अभियान्ता प्रतिनिधिले छनोट गरी छात्रवृत्ति वितरण गरिएको छ ।

यसअघि कोषबाट कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई मात्रै छात्रवृत्रि प्रदान गरिदैँ आएकोमा यस पटक कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक चुडामणि खनालले बताउनु भयो । उहाँका अनुसार कक्षा ६ देखि ८ सम्म एक हजार, कक्षा ८ देखि १० सम्म पन्ध्र सय र ११ र १२ का विद्यार्थीहरुलाई दुई हजार वितरण गरिएको छ ।