इटहरी । इलाम नगरपालिका–८ को वडा कार्यालयले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा दिन थालेपछि यहाँका ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । 

इलाम बजारनजिक भए पनि स्वास्थ्य जाँच गर्न जान नसक्ने अवस्थामा रहेका ज्येष्ठ र अशक्त नागरिकका लागि वडा कार्यालयले मधुुमेह, उच्च रक्तचाप, कान लगायतको अत्यावश्यक स्वास्थ्य जाँचको अभियान सञ्चालन गरेको छ । सात दिनसम्म चलेको स्वास्थ्य जाँचका क्रममा वृद्धवृद्धाको उच्च रक्तचाप र कानमा बढी समस्या, दम देखिएको स्वास्थ्य जाँचमा संलग्न स्वास्थ्यकर्मी वसन्त सुवेदीले जानकारी दिनुुभयो । सुवेदीले केहीलाई थप उपचारका लागि इलाम अस्पताल पठाइएको जानकारी दिनुुभयो । 

स्वास्थ्य जाँचका क्रममा एक महिनासम्मका लागि औषधी र आवश्यक पोषण तत्वहरू समेत उपलब्ध गराइएको छ । वडाका दस वटा टोलमा गरिएको स्वास्थ्य जाँचमा १६० जनाको स्वास्थ्य जाँच गरिएको छ । वडाले हरेक वर्षको दुुई पटक ज्येष्ठ नागरिकहरूको घरमै पुुगेर स्वास्थ्य जाँच गर्ने गरेको वडाध्यक्ष दलमान तामाङले बताउनुुभयो ।