इटहरी । विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ भने तीनवटा विद्यालयमा कक्षा घटुवा गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार वडा नं। ४ को थानेश्वर आधारभूत विद्यालय र वडा नं। १ को सिद्धार्थ आधारभूत विद्यालय बन्द गरिएको हो । साथै वडा नं। ३ को लक्ष्मी आधारभूत विद्यालय, वडा नं। ४ को पञ्चकन्या आधारभूत विद्यालय र वडा नं। ६ को सुन्तोली आधारभूत विद्यालयबाट कक्षा ४ र ५ हटाइएको छ । थानेश्वर आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म जम्मा ६ जना विद्यार्थी रहेका थिए । एक शिक्षक दरबन्दी र एक बालविकास शिक्षक रहेको उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सोही वडाको जनता आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।
थानेश्वर विद्यालयमा कक्षा ५ सम्म स्वीकृति भए पनि हाल कक्षा ३ सम्म मात्र पढाइ भइरहेको थियो । त्यसैगरी वडा नं। १ को सिद्धार्थ आधारभूत विद्यालयमा जम्मा नौ जना विद्यार्थी रहेका थिए । उक्त विद्यालयलाई सोही वडाको श्री माध्यमिक विद्यालय, होक्लाबारीमा समायोजन गरिएको छ । बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयका तीन शिक्षक र दुई बालविकास कर्मचारीलाई पनि श्री माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । वडा नं। ३ को लक्ष्मी आधारभूत विद्यालय र वडा नं। ४ को पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा ४ र ५ हटाइएको छ । लक्ष्मी विद्यालयका दुई कक्षामा जम्मा ६ जना विद्यार्थी थिए भने पञ्चकन्या विद्यालयका दुई कक्षामा नौ जना विद्यार्थी थिए । लक्ष्मी विद्यालयका तीन शिक्षक र दुई बालविकास कर्मचारीमध्ये एक शिक्षक दरबन्दीसहित ६ जना विद्यार्थीलाई सोही वडाको बाल माध्यमिक विद्यालयमा समायोजन गरिएको छ ।
पञ्चकन्या विद्यालयका एक शिक्षक दरबन्दीसहित नौ जना विद्यार्थीलाई पनि बाल माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । त्यस्तै वडा नं। ६ को दहिधापस्थित सुन्तोली आधारभूत विद्यालयबाट पनि कक्षा ४ र ५ हटाइएको छ । त्यहाँ कक्षा ४ मा तीन जना र कक्षा ५ मा दुई जना विद्यार्थी थिए । उक्त विद्यालयका एक शिक्षक दरबन्दी र पाँच जना विद्यार्थीलाई सोही वडाको पञ्चज्योति आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव तथा शिक्षा शाखा अधिकृत चुडामणि रेग्मी सहभागी शिक्षा समितिको २०८२ जेठ १३ गते बसेको बैठकले विद्यालय समायोजन तथा एकीकरण गर्ने निर्णय गरेको थियो । समितिले शैक्षिक सत्र २०८३ देखि प्रत्येक कक्षामा कम्तीमा १० जना विद्यार्थी अनिवार्य हुनुपर्ने व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।
यसअघि पनि विद्यार्थी अभावकै कारण करिब १० वर्षअघि वडा नं। ४ को पिङडाँडास्थित तत्कालीन प्रगतिशील प्राथमिक विद्यालय र वडा नं। ७ को पच्चिस बिघास्थित शान्तिदेवी प्राथमिक विद्यालय बन्द गरिएको थियो । कानेपोखरी गाउँपालिकामा हाल २१ वटा सामुदायिक र २० वटा संस्थागत विद्यालय रहेका छन् ।