मोरङ | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ले मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित रोयल कृषि फार्मलाई व्यवसायिक रूपमा बँदेल प्रजातिको वन्यजन्तु पालन तथा प्रजनन गर्न अनुमति दिएको छ।

विभागले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार मिति २०८१ चैत २६ गतेको विभागीय निर्णयका आधारमा उक्त अनुमति प्रदान गरेको हो।

सुन्दरहरैँचा नगरपालिका–३ (साविक दुलारी–९/घ) मा रहेको निजी जग्गामा सञ्चालन हुने फार्मका सञ्चालक सानु कार्की रहेका छन्। अमृत कार्की, सानु कार्की, आरोन कार्की र पदमावती नेउपानेको नाममा दर्ता रहेको कि.नं. ९५३, ८८८, ९५१, ४०५, ४०६ र ४५८ का कुल १–११–०.५ विगाहा क्षेत्रफलको जग्गामा उक्त फार्म सञ्चालन हुने विभागले जनाएको छ।

अनुमतिपत्रमा वन्यजन्तुको पालन तथा प्रजनन गर्दा प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्ने, आवश्यक पूर्वाधार तथा खानाको व्यवस्था गर्नुपर्ने, वन्यजन्तुलाई तोकिएको फार्म क्षेत्रभन्दा बाहिर छाड्न नपाइने लगायतका शर्तहरू उल्लेख गरिएको छ।

त्यस्तै वन्यजन्तुमा रोग संक्रमण हुन नदिन सुरक्षा तथा सावधानी अपनाउनुपर्ने र फार्मको प्रवेशद्वारमा निर्मलीकरणको व्यवस्था गर्नुपर्ने प्रावधान पनि राखिएको छ। पालन–प्रजनन गरिएका वन्यजन्तु बिना अनुमति प्रकृतिमा छाड्न नपाइने विभागले स्पष्ट पारेको छ।

अनुमतिपत्र डा. बुद्धि सागर पौडेल, महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग द्वारा २०८३ वैशाख ८ गते जारी गरिएको हो।1777776047073