इटहरी । नेपाल पत्रकार महासंघ, झापा शाखाको वार्षिक साधारणसभा सोमबार बिर्तामोडमा सम्पन्न भएको छ ।

केन्द्रीय उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि स्थापना गरिएको ‘पत्रकार सहारा उपचार अक्षयकोष’लाई वृद्धि गरी २ करोड रुपैयाँ पु¥याउने घोषणा गरेको छ । सभामा बोल्दै शाखा अध्यक्ष एकराज गिरीले पत्रकारहरूको क्षमता अभिवृद्धि तथा दक्षता विकासका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले पेशागत सुरक्षा सुनिश्चित गर्दै प्रविधिमैत्री पत्रकारितामा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै, केही सरकारी नीतिहरू प्रेस स्वतन्त्रताविरोधी रहेको उल्लेख गर्दै त्यसविरुद्ध आवाज उठाउनुपर्ने धारणा राख्नुभयो । साधारणसभाले सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विज्ञापन सम्बन्धी सरकारी नीति, प्रेस स्वतन्त्रताको सवाल, स्थानीय तथा स्वरोजगारमूलक मिडियाको संरक्षण र सम्वर्धन लगायतका विषयमा गहन छलफल गरेको छ ।

साथै, श्रमजीवी पत्रकारका समस्या, पत्रकारिताको शुद्धीकरण र सञ्चार कानुन निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सभाले विभिन्न महत्वपूर्ण निर्णयहरू समेत पारित गरेको छ । कार्यक्रममा कोशी प्रदेश तथा विभिन्न जिल्लाका पत्रकार प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सोही अवसरमा ‘संकटमा छापा’ शीर्षकको प्रकाशन विमोचन गर्नुका साथै उत्कृष्ट पत्रकारहरूलाई पुरस्कार र ज्येष्ठ पत्रकारहरूलाई भत्ता प्रदान गरिएको थियो ।