इटहरी । इलाम जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिकाले वडामै घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीय सेवाग्राही खुसी भएका छन् ।

भौगोलिक रुपमा दुुर्गम क्षेत्र रहेको गाउँपालिकामा गाउँपालिका केन्द्रसम्म सेवा लिन आउन समस्या भएपछि पालिकाले वडा–वडामै घुम्ती शिविर सम्पन्न गरेको हो ।  गाउँपालिकाले आफ्ना सातवटै वडामा पालिका अन्तर्गतका स्वास्थ्य, कृषि, पशुुपन्छी, पन्जीकरण लगायतका शाखाका सबै सुविधा प्रदान गरेको छ । वडा तहमै स्वास्थ्य सुविधा आउँदा सामान्य जाँच गर्न र औषधी लिन देउमाई नगरपालिकाको मंगलबारेसम्म जानुपर्ने झन्झट टरेको वडा नम्बर–६ का सेवाग्राही निलकण्ठ अधिकारीले बताउनुुभयो ।

यस्तै, राष्ट्रिय परिचयपत्रका लागि ‘वायोमेट्रिक’ गराउने काम वडाबाटै भएको वडा–६ की धनमाया राईले बताउनुुभयो । पालिकाले शिविरमा ज्येष्ठ नगारिकको परिचयपत्र, वैदेशिक रोजगारीसम्बन्धी सूचना प्रवाह, योजना सम्झौता, पशुु चौपायालाई औषधी वितरण, कृषिका लागि जैविक विषादी वितरण, व्यवसाय दर्ता र नवीकरण लगायतका विषयमा नागरिकलाई सेवा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताउनुुभयो ।

शिविरमा दुुईसय ५५ जना ज्येष्ठ नागरिकले परिचयपत्र, तीनसय ८३ किसानले पशुका लागि औषधी लिएका, ३२४ किसानले कृषि शाखाबाट सेवा लिएका थिए । ६ वटा व्यवसाय दर्ता तथा नवीकरण, सात जनाले राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक र एक जनाले श्रम स्वीकृति लिएको पालिकाले जनाएको छ । यस्तै ७३ जनाले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना लिएका थिए ।