इटहरी । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको छ ।

सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सिफिलिसजस्ता सरुवा रोगहरूको अनिवार्य प्रयोगशाला परीक्षण गर्ने क्रममा यी तथ्य बाहिर आएका हुन् । रगत परीक्षणका क्रममा आर्थिक वर्ष २०७८र७९ मा एक जना, आव २०७९र८० मा दुई जना, आव २०८०र८१ मा छ जना, आव २०८१र८२ मा १४ जना र आव २०८२र८३ मा छ जना रक्तदाताको रगतमा एचआईभी पोजेटिभ फेला परेको रक्तसञ्चार सेवा केन्द्र भद्रपुरका इञ्चार्ज शिशिर दाहालले जानकारी दिनुेभयोे ।

उहाँका अनुसार आव २०८१र८२ मा सबैभन्दा बढी १४ जना रक्तदाताको रगतमा एचआईभी पोजेटिभ भेटिएको हो । सेवा केन्द्रमा परीक्षण गरिएका रगतमा एचआईभी पोजेटिभ देखिएमा पुनर्पुष्टिका लागि थप परीक्षण तथा परामर्शका लागि सिफारिस गरिने गरिएको उहाँले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा केन्द्रमार्फत झापाका अस्पतालमा हरेक वर्ष १७ हजार युनिटभन्दा बढी सुरक्षित रगत आपूर्ति हुँदै आएको छ । जिल्लामा पाँच हजारभन्दा बढी स्वयम्सेवी रक्तदाता रहेका छन् ।

हरेक वर्ष वर्षायाममा रक्तदान कार्यक्रम कम सञ्चालन हुने र खेतीपातीको समयसमेत हुने भएकाले जिल्लामा रगतको अभाव हुने गरेको छ । क्यान्सर, मिर्गौला, एनिमिया लगायतका बिरामीको सङ्ख्या बढ्दै जाँदा रगतको माग पनि बढिरहेको छ । रेडक्रसले रगत दान गर्नुअघि र दान गरिसकेपछि गरिने यस्ता परीक्षणले बिरामीमा सर्न सक्ने सम्भावित संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको जनाएको छ ।