इटहरी । पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आफूले अध्ययन गरेका विद्यालयमा आफ्ना आमाबुवाको नाममा स्थापित ‘वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष’ अन्तर्गत तीन विद्यालयका उत्कृष्ट १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ ।
भोजपुर नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालय, भोजपुर नगरपालिका–७ स्थित भोजपुर बहुमुखी क्याम्पस र विद्योदय माध्यमिक विद्यालयका उत्कृष्ट १० जना विद्यार्थीलाई जनही १५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । भोजपुर बहुमुखी क्याम्पसबाट उत्कृष्ट विद्यार्थी रविना बुढाथोकी, युना म्हेन्दो तामाङ, खुसी बयलकोटी र स्नेह राईलाई छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै, विद्योदय माध्यमिक विद्यालयका कक्षा ८ मा उत्कृष्ट अङ्क ल्याउने दिपेश विष्ट र साम्युमा खिम्दुङ तथा कक्षा ११ मा विज्ञान विषय अध्ययनरत कुञ्जना तामाङ र कविस उरावलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ ।
सरस्वती आधारभूत विद्यालयमा कक्षा ५ मा प्रथम हुने छात्रा रेविका राई तथा द्वितीय हुने छात्र मीनध्वज प्रधानलाई समेत छात्रवृत्ति प्रदान गरिएको छ । हरेक वर्ष नियमित रूपमा छात्रवृत्ति वितरण गर्दै आएको उक्त अक्षयकोषलाई निरन्तरता दिन सरस्वती आधारभूत विद्यालयका लागि तीन लाख रुपियाँ तथा भोजपुर बहुमुखी क्याम्पस र विद्योदय माध्यमिक विद्यालयका लागि १० लाख रुपियाँ बराबरको अक्षयकोष स्थापना गरिएको संस्थापक तथा संरक्षक शङ्करप्रसाद कोइरालाले जानकारी दिनुभयो ।


