धनकुटा । जिल्ला अस्पताल धनकुटाको ११२औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नीरेन तामाङको अध्यक्षता तथा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

IMG-20260509-WA0016

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम तथा पहाडी क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले “रक्त सञ्चार सेवा तत्काल सुरु गरिन्छ, जिल्ला अस्पताल भवन निर्माणको ढिलासुस्ती अन्त्य गरेर छिटो सम्पन्न गर्न पहल गर्छौँ, डायलेसिस सेवालाई थप प्रभावकारी बनाउँदै पहाडी भूभागका नागरिकहरूलाई समेत उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ सरकार गम्भीर छ,” भन्नुभयो।

IMG-20260509-WA0018

उहाँले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष पाँच जनालाई खादा, प्रमाणपत्रसहित सम्मान गरिएको थियो। साथै हेमोडायलासिस सेवा प्रभावकारी सञ्चालन भएको प्रथम वार्षिकोत्सवको अवसरमा सहयोगी संस्थाहरू, उत्कृष्ट शाखा तथा उत्कृष्ट कर्मचारीहरूलाई समेत सम्मान गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले विगत लामो समयदेखि जिल्लावासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै वक्ताहरूले सेवा विस्तार र पूर्वाधार विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।