इटहरी । प्राचीन हरिद्वारको रूपमा स्थापित पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा आध्यात्मिक केन्द्र चतराधाममा वैदिक शिक्षा र आधुनिक शिक्षाको समन्वय गर्ने उद्देश्यसहित “जगतगुरु श्रीरामानन्दाचार्य गुरुकुल” स्थापना गरिएको छ ।

वराहक्षेत्र नगरपालिका–१, चतराधामस्थित श्रीरामतारक ब्रह्मपीठ अन्तर्गत सञ्चालन हुने उक्त गुरुकुलको आइतबार कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । कक्षा ६ देखि १२ सम्म अंग्रेजी माध्यमबाट सञ्चालन हुने योजना अनुसार सञ्चालनमा ल्याइएको गुरुकुलको औपचारिक उद्घाटनसँगै आइतबारदेखि नै कक्षा ६ को अध्ययन सुरु गरिएको छ । श्रीरामानन्दाचार्य सेवा पीठका पीठाधीश तथा संरक्षक अनन्त श्री विभूषित जगद्गुरु रामानन्दाचार्य स्वामी श्री रामाकृष्णाचार्य महायोगी सिद्धबाबाको सक्रिय पहल र निर्देशनमा गुरुकुल स्थापना गरिएको हो ।

लामो समयदेखि चतराधामलाई धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा आध्यात्मिक केन्द्रका रूपमा विकास गर्दै आउनु भएका महायोगी सिद्धबाबाले अब संस्कारयुक्त शिक्षामार्फत समाज निर्माण गर्ने लक्ष्यसहित गुरुकुल सञ्चालनमा ल्याइएको बताउनुभयो । गुरुकुल उद्घाटन कार्यक्रममा महायोगी सिद्धबाबाले आधुनिक शिक्षासँगै नैतिकता, संस्कार र आध्यात्मिक चेतनाको अभाव देखिन थालेकाले गुरुकुलीय शिक्षाको आवश्यकता अझ बढेको बताउनुभयो । उहाँले वैदिक सनातन संस्कृतिको संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र सभ्यतासँग जोड्न गुरुकुल महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्यटनमन्त्री पराजुलीले चतराधाम धार्मिक पर्यटनको केन्द्रका रूपमा विकसित हुँदै गएको अबस्थामा अहिले स्थापना गरिएको गुरुकुलको सफल सञ्चालनले धार्मिक तथा शैक्षिक पर्यटन प्रवर्धनमा समेत ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।  नेपालमा क्रमशः हराउँदै गएको गुरुकुलीय शिक्षा प्रणालीलाई पुनर्जीवित गर्दै आधुनिक पुस्तालाई संस्कारयुक्त शिक्षा दिने उद्देश्यले सुरु गरिएको यो अभियानलाई चतराधामको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको मन्त्री पराजुलीको भनाइ छ ।

1000267801

गुरुकुलका प्रधानाध्यापक रामहरि ढकाल अनुसार गुरुकुलमा आधुनिक पाठ्यक्रमसँगै योग, ध्यान, वेद–व्याकरण, संस्कृत, नैतिक शिक्षा, संस्कृति तथा अनुशासित गुरुकुलीय जीवनशैलीमा आधारित शिक्षण पद्धति अपनाइने छ । अंग्रेजी माध्यमबाट अध्ययन गराइने गुरुकुलका विद्यार्थीलाई आफ्नो मौलिक संस्कृतिप्रति सचेत र जिम्मेवार बनाइने लक्ष्य राखिएको छ । धार्मिक महोत्सव, वैदिक अनुष्ठान, प्रवचन तथा आध्यात्मिक कार्यक्रममार्फत चतराको धार्मिक पर्यटन विकासमा सक्रिय भूमिका खेल्दै आएको श्रीरामतारक ब्रह्मपीठले गुरुकुल स्थापना मार्फत शिक्षा क्षेत्रमा समेत नयाँ आयाम थपेको स्थानीयवासीको भनाइ छ ।

वराहक्षेत्र नगरपालिकाबाट स्वीकृति प्राप्त गरिसकेको गुरुकुलको उद्घाटन कार्यक्रममा सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीहरु त्रमश बासुदेव घिमिरे र धर्मराज जोशी लगायत विभिन्न धार्मिक व्यक्तित्व, शिक्षाविद्, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।