इटहरी । हातेमालो जनसरोकार संस्थाको आयोजनामा सम्पन्न ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लाल बहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष अनिल कुमार पोखरेल रहनुभएको थियो । त्यसैगरी अतिथिहरूमा वडा सदस्य दुर्गा दाहाल, इनरुवा ब्याडमिन्टन क्लबका अध्यक्ष मनोज थापा तथा क्लबका सल्लाहकार मनोज खड्काको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा विभिन्न समूहमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । ग्रुप ए तर्फ महेश चौधरी र आभाष चौधरी विजेता बने भने श्रवण घिमिरे र ध्यानवीर राई उपविजेता बने । त्यसैगरी ग्रुप बी तर्फ किरण आचार्य र लाल बहादुर श्रेष्ठ विजेता बने भने मौसम कोइराला र बिपिन श्रेष्ठ उपविजेतामा सीमित भए ।
प्रतियोगिताले युवाहरूमा खेलप्रति रुचि बढाउनुका साथै सामाजिक एकता र आपसी सद्भाव कायम गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।


