सुनसरी/ सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीमा जन्मिएका अनिरुद्र चौधरीले पठनपाठनसँगै खेलकुदलाई आफ्नो जीवनको मुख्य आधार बनाउँदै २०४५ सालदेखि एथलेटिक्समार्फत खेल यात्रा सुरु गर्नुभएको हो।
कोशी अञ्चलबाट विभिन्न प्रतियोगितामा सहभागी हुँदै उहाँले दोस्रो, तेस्रो हुँदै कतिपय समयमा पहिलो स्थानसमेत हासिल गर्नुभएको छ। “सानैदेखि मलाई दौड अत्यन्त मनपर्थ्यो, त्यसैले एथलेटिक्स खेल रोजें,” चौधरीले भन्नुभयो।

परिवारको निरन्तर साथ र समर्थनकै कारण खेल यात्रालाई निरन्तरता दिन सफल भएको उहाँ बताउनुहुन्छ। खेल क्षेत्रमा अहिलेको जस्तो सुविधा नभएको स्मरण गर्दै उहाँले त्यतिबेला खेलाडीहरूले निकै कठिन परिस्थितिमा समेत खेलप्रति समर्पित भएर प्रतियोगितामा भाग लिने गरेको अनुभव सुनाउनुभयो।

“त्यो बेला प्रतियोगितामा जाँदा ट्रिपल र पराल ओछ्याएर बास बस्नुपर्थ्यो, तर खेलप्रतिको उत्साह कहिल्यै कम भएन,” उहाँले सम्झिनुभयो।
उहाँका अनुसार २०५० सालमा सम्पन्न ३०औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता आफ्नो जीवनकै सबैभन्दा सम्झनलायक प्रतियोगितामध्ये एक हो। उक्त प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी लगायत विभिन्न क्षेत्रका खेलाडी तथा व्यक्तित्वहरूको सहभागिता र नेपाल सरकारको राम्रो सहकार्यले प्रतियोगिता थप व्यवस्थित र उत्साहजनक बनेको उहाँको अनुभव छ।

खेलाडीका रूपमा यात्रा सुरु गरेका चौधरी पछि प्रशिक्षक, टिम म्यानेजर र टेक्निकल अफिसरको भूमिकामा समेत सक्रिय रहनुभयो। उहाँले चारवटा जुनियर एथलेटिक्स प्रतियोगितामा टिम कोचको जिम्मेवारी सम्हाल्दै खेलाडीहरूलाई प्रशिक्षण दिने, प्रतियोगिताका लागि तयारी गराउने तथा अन्तर्राष्ट्रिय स्तरसम्म टोलीको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको थियो।


त्यस्तै विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा टेक्निकल अफिसरको रूपमा निरन्तर काम गर्दै उहाँले खेल सञ्चालन, नियम कार्यान्वयन, प्रतिस्पर्धाको प्राविधिक व्यवस्थापन तथा निष्पक्ष खेल वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा समेत उहाँले प्राविधिक जिम्मेवारी सम्हाल्दै सफल व्यवस्थापनमा योगदान दिनुभएको थियो।
हाल चौधरी सुनसरी जिल्ला एथलेटिक्स सङ्घ का उपाध्यक्ष, नेपाल एथलेटिक्स सङ्घ का केन्द्रीय सदस्य तथा नेपाल खेलकुद महासङ्घ एथलेटिक्स का केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ।

उहाँले कोशी प्रदेशका विभिन्न जिल्लामा राष्ट्रपति रनिङ शिल्डसहित एथलेटिक्स प्रतियोगिताहरूलाई निरन्तर सञ्चालन तथा विस्तार गर्दै नयाँ खेलाडी उत्पादन र खेल संस्कृतिको विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
दशकौँदेखि खेल क्षेत्रमा सक्रिय चौधरीको यात्रा संघर्ष, अनुशासन, समर्पण र नेपाली खेलकुदप्रतिको निष्ठाको प्रेरणादायी उदाहरण बनेको छ।



