इटहरी । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माण सम्पन्न भएको छ ।
वसन्तयामको सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा आठ जना आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरबाट क्याम्प–२ सम्म निर्माण गरेपछि त्यसभन्दा माथि एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालले चुचुरोसम्मको बाटो तयार गरेको हो । दोस्रो शिविरभन्दा माथि डोरी टाँग्दै मार्ग निर्माणमा खटिएको अनुभवी आरोहीको टोली सफलतापूर्वक शिखरमा पुगेर डोरी टाँग्ने काम सम्पन्न भएको टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएसनले अफ नेपालले जनाएको छ ।
कम्पनीका अनुसार मिङ्मा तेम्बा शेर्पाको नेतृत्वमा उहाँसहित पासाङनुर्बु शेर्पा र डेन्डी शेर्पाको टोली शिखरमा पुगेको हो । सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने टोरी टाँग्ने काम अत्यन्तै महìवपूर्ण हुन्छ । अब आरोही तिनै डोरी प्रयोग गर्दै शिखरतर्फ जाने छन् । यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरुद्ध भएपछि समस्या भएको थियो । आइसफल डाक्टरले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोही खटिएको जनाइएको छ ।
शिखरसम्म डोरी टाँग्ने काम भइसकेकाले अब मौसम अनुकूल हेरेर आरोहण सुरु हुने छ । यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै ४९२ जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टीबापत एक अर्ब रुपियाँभन्दा धेरै सङ्कलन भएको छ ।


