धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रीबासमा विद्यार्थी तथा सरोकारवालासँग अन्तरक्रिया तथा कृषि क्याम्पस जाने बाटो उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पस प्रमुख निराजन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङ लगायत शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले प्रदेश सरकार र स्थानीय सरकारसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कृषि शिक्षा, व्यवहारिक अध्ययन, पूर्वाधार विकास, रोजगार तथा कृषि क्षेत्रको सम्भावनाका विषयमा आफ्ना धारणा राखेका थिए। साथै प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रममा कृषि, शिक्षा र युवा लक्षित योजनालाई कसरी प्राथमिकता दिने भन्ने विषयमा समेत छलफल गरिएको थियो।
अन्तरक्रियाका क्रममा कोशी प्रदेशमा सञ्चालन भइरहेको कृषि तथा वन विज्ञान शिक्षाको अवस्था, प्राकृतिक स्रोत व्यवस्थापन कलेजको विकास तथा आगामी दिनमा आवश्यक पूर्वाधार, प्रयोगशाला, अनुसन्धान र व्यवहारिक शिक्षालाई थप प्रभावकारी बनाउने विषयमा समेत व्यापक छलफल भएको थियो।
प्रमुख अतिथि मन्त्री पराजुलीले कृषि र वन विज्ञान क्षेत्र देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको बताउँदै प्राविधिक तथा व्यवहारिक शिक्षालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले पाख्रीबासस्थित यस कलेज कोशी प्रदेशकै मात्र नभई देशकै महत्वपूर्ण शैक्षिक संस्थाको रूपमा विकास हुने सम्भावना रहेको उल्लेख गर्दै कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो।

मन्त्री पराजुलीले कृषि शिक्षालाई आधुनिक प्रविधिसँग जोड्दै अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतामार्फत युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कलेजको भौतिक पूर्वाधार विकास, सडक पहुँच, प्रयोगशाला व्यवस्थापन तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले पाख्रीबास नगरपालिका–३ मा रहेको उक्त कलेजको समग्र उन्नति र प्रगतिका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर दीर्घकालीन योजना अनुसार काम गर्ने बताउनुभयो।
कृषि तथा वन विज्ञानसँग सम्बन्धित कोशी प्रदेशको एकमात्र शैक्षिक संस्थाका रूपमा रहेको उक्त कलेजमा हाल सातै प्रदेशबाट आएका करिब २३० जना विद्यार्थीहरूले कृषि स्नातक तह बिएस्सी एजी अध्ययन गरिरहेका छन्। कार्यक्रमसँगै क्याम्पस जाने बाटोको समेत उद्घाटन गरिएको थियो।


