इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रहरी प्रशासनलाई नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री पराजुलीले विभिन्न शाखा, हिरासत कक्ष, सूचना सञ्चार कक्ष, प्रहरी काम कारबाही, सेवा प्रवाह, अभिलेख व्यवस्थापन लगायतका विषयको अवलोकन गर्नुभएको थियो । निरीक्षणपछि कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरूसँग छलफल गर्दै उहाँले कार्यालयको समग्र अवस्था, सेवा प्रवाह र अनुशासन प्रति खुशी व्यक्त गर्नुभयो ।
मन्त्री पराजुलीले शान्ति सुरक्षा कायम राख्न प्रहरी संगठनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै जनता र राष्ट्रप्रति समर्पित भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले कानुनको प्रत्याभूति महसुस हुने गरी आम नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा दिन प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो ।
मन्त्री पराजुलीले सम्पूर्ण प्रहरी कर्मचारीलाई सेवा प्रतिको निष्ठा, अनुशासन, नैतिकता र व्यावसायिक क्षमतामा ध्यान दिँदै जनमुखी ढंगले काम गर्न निर्देशन दिनुभएको छ । साथै उहाँले प्रदेश सरकारले प्रहरी संगठनसँग आवश्यक समन्वय र सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


