इटहरी । चौबिसे गाउँपालिकाको राजारानीमा सम्पन्न १३ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिताबाट आयोजकले ५ लाख ३५ हजार ५ सय ५६ रुपियाँ नाफा गरेको जनाएको छ ।
रारा फुटबल क्लब राजारानीले बुधबार सार्वजनिक गरेको आय–व्यय विवरणअनुसार प्रतियोगितामा कुल ३८ लाख ८ हजार ७ सय ४५ रुपियाँ आम्दानी भएको थियो भने ३३ लाख ७३ हजार १ सय ८९ रुपियाँ खर्च भएको आयोजक समितिका सचिव जीवन कटुवालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि चौबिसे गाउँपालिकाबाट १४ लाख रुपियाँ अनुदान प्राप्त भएको थियो । त्यस्तै गेट टिकट बिक्रीबाट ११ लाख ४ हजार रुपियाँ तथा बिभिन्न संघ सस्थाबाट संकलन भएका रारा फुटबल क्लबका अध्यक्ष मणिकुमार लिम्बूले जानकारी दिनुभयो ।
त्यस्तै, खर्चतर्फ पुरस्कार वितरणमा सबैभन्दा बढी ९ लाख २९ हजार रुपियाँ खर्च गरिएको छ । टिम व्यवस्थापनमा ६ लाख २५ हजार रुपियाँ, स्वयंसेवक खर्चमा ५८ हजार रुपियाँ तथा निर्णायक भत्तामा १ लाख ८० हजार रुपियाँ खर्च भएको उल्लेख गरिएको छ । १३ औँ संस्करणको रारा गोल्ड कप २०८३ बैशाख १८ देखि २२ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगिताको फाइनलमा झापाको युनाइटेड फुटबल क्लवले आयोजक राजारानीलाई हराएको थियो । प्रथम पुरस्कार ७ लाख नगद रहेको रारा कप जिल्लाकै सबैभन्दा बढी पुरस्कार राशी भएको फुटबल प्रतियोगिता हो ।


