इटहरी । शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएका छन् ।
फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका यी दुवै फिल्म देशभर एक–अर्कासँग भिड्दै रिलिज भएका हुन् । ‘काजी’ र ‘मितज्यू’ एकसाथ रिलिज हुनुलाई फिल्म क्षेत्रमा ‘स्टार वार’ का रूपमा हेरिएको छ । किनभने यी दुई फिल्ममार्फत पछिल्लो समयका ठूला स्टारहरू विपिन कार्की एकातिर तथा दयाहाङ राई र सौगात मल्ल अर्कोतिर भएर एक–अर्कासँग भिड्दैछन् । यद्यपि, देशभरका फिल्म हलहरूमा यी दुवै फिल्मले मात्र एकल कब्जा जमाउन भने पाएका छैनन् । काजी’ भर्सटाइल अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म हो । ‘क्लासिक लभस्टोरी’ बताइएको यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

फिल्ममा विपिनका अलावा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र दिक्षिता अर्याललगायतको अभिनय छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत छ । यो फिल्म रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । ग्रामीण परिवेशमा खिचिएको यो फिल्मलाई अभिनेता कार्कीले आफ्नो जीवनको एक महत्वपूर्ण फिल्म भएको बताएका छन् । ‘मितज्यू’ मार्फत दर्शकले दयाहाङ राई र सौगात मल्लको जोडी फेरि पर्दामा देख्न पाएका छन् ।

यी दुई अभिनेताको उपस्थिति नै फिल्म सफल बनाउन पर्याप्त मानिन्छ । यो फिल्मबाट डान्सर टेरिया फौजा मगर अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन् । फिल्ममा दयाहाङ, सौगात र टेरियाका अलावा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहना रानामगर, अनुशा राई तथा खड्गबहादुर पुनमगरको अभिनय छ । जनक घर्ती मगरले निर्माण गरेको यो फिल्म ग्रामीण परिवेशमा खिचिएको छ । फिल्मले मित्रता र सामाजिक द्वन्द्वको कथा प्रस्तुत गर्नेछ । यस फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन् ।


