इटहरी । चलचित्र विकास बोर्डबाट इजाजत प्राप्त गरिसकेको नयाँ नेपाली फिल्म ‘वर्णशङ्कर नारदे’का लेखक, निर्देशक तथा निर्माता रितेश जंग खत्री पौडेलले आफ्नो फिल्मको कथा, दृश्य वा अवधारणा अनुमति बिना प्रयोग नगर्न कडा चेतावनी दिएका छन् ।
आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्ट्याटस लेख्दै उनले विश्वास र आत्मीयताका आधारमा आफूले सुनाएको कथावस्तु चोरी भए कानुनी मार्ग अपनाउने घोषणा गरेका हुन् । निर्देशक रितेशका अनुसार फिल्मको लेखन कालमा उनले केही साथीहरूसँग कथावस्तु, पात्र र दृश्यहरूका बारेमा छलफल गर्दै भविष्यमा सहकार्य गर्ने समझदारी गरेका थिए । हाल ती साथीहरू आफ्नै फिल्म निर्माण, सुटिङ, कार्यशाला र प्रदर्शनको तयारीमा सक्रिय रहेको उल्लेख गर्दै उनले अरूको सिर्जना अनुमति बिना प्रयोग गर्नु चोरी र अनैतिक कार्य भएको बताएका छन् ।
उनले ९ महिना अघि विकास बोर्डबाट निर्माण इजाजत लिएको सक्कल प्रमाणपत्र सार्वजनिक गर्दै यो कुराको उल्लेख गरेका हुन् । फिल्मको निर्माण कार्य भने अझै सुरु भइसकेको छैन अर्थात् यो फिल्म हाल प्रि प्रोडक्सनकै क्रममा छ । उनले आवश्यक परे फिल्मकर्मीका सम्बन्धित संघ(संस्था, निर्देशक समाज र चलचित्र विकास बोर्डसम्म पुगेर आफ्नो बौद्धिक अधिकारको रक्षा गर्ने स्पष्ट पारेका छन् । साथै, आफ्ना साथीहरूलाई यदि त्यस्ता कुनै समान सामग्री प्रयोग गरिएको भए पुनर्विचार गर्न र विश्वासमाथि चोट नपुर्याउन समेत आग्रह गरेका छन् ।फिल्मको शीर्षक र पात्रबारे प्रष्ट पार्दै निर्देशकले ‘वर्णशङ्कर नारदे’ कुनै साधारण पात्र नभएर समाजमा पहिचान खोजिरहेको, अपहेलना सहँदै बाँचेको र परिस्थितिले निर्माण गरेको एउटा जटिल पात्र भएको बताएका छन् ।

यो फिल्म इलाम र पाँचथरको सीमावर्ती क्षेत्रको पृष्ठभूमिमा आधारित रहनेछ भने यसले खस आर्य, क्षेत्री, बाहुन, तामाङ, विश्वकर्मा, भुजेल, राई, लिम्बू लगायत विभिन्न समुदायबीचको सामाजिक एकता, सम्बन्ध, अन्तरविरोध र समयले सिर्जना गरेका जटिल अवस्थाहरूलाई प्रस्तुत गर्नेछ । यो फिल्म मार्फत पूर्वेली भाषा, संस्कृति, रहनसहन, चालचलन र सामाजिक मनोविज्ञानलाई कथानक शैलीमार्फत पर्दामा उतारिनेछ । श्री परिधि फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कुल अनुमानित लगानी ८५ लाख रुपैयाँ देखाइएको छ । निर्माण पक्षले यस फिल्मको निर्माण अवधि ३ वर्षको राखेको छ ।

निर्देशक रितेशले यो फिल्मको निर्माण इजाजत चलचित्र विकास बोर्डबाट २०८२ साल साउन ५ गते नै लिइसकेका थिए ।विकास बोर्डको इजाजत दर्ता प्रमाणपत्रका आधारमा यो फिल्ममा सुवास खरेल, सम्रान्त थापा, दीपा पोखरेल लगायतका कलाकारहरू प्रमुख भूमिकामा रहने भनिएको छ । फिल्ममा रितेश जंग खत्री स्वयम् पनि कलाकारका रूपमा देखिनेछन् ।


