इटहरी । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप यही जेठ १० गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतियोगितामा एक भारतीय टिमसहित आठ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान (धनकुटा)सँगै बिर्तामोड युनाइटेड फुटबल क्लब (झापा), राष्ट्रिय जागृति क्लब(इटहरी, सुनसरी), बेलबारी फुटबल क्लब (मोरङ), गाईघाट युनाइटेड फुटबल क्लब (उदयपुर), सहलेश युवा क्लब (सिराहा), सातदोबाटो युथ क्लब (ललितपुर) र जर्जियन फुटबल क्लब (कालिङ्पोङ, भारत)को सहभागिता रहने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ६ लाख रुपियाँ नगद प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपियाँ प्राप्त गर्नेछ । प्रतियोगिता सञ्चालन गर्न करिब ४५ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता जेठ १० देखि १६ गतेसम्म धनकुटा–५ स्थित तल्लो टुँडिखेल खेलमैदानमा सञ्चालन हुनेछ । यो प्रतियोगिता २०५५ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको हो ।


