इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका ३ स्थित प्यागोडा मोडल माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

विद्यालय परिसरमा शनिबार आयोजित कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थीहरूलाई खादा मालाले सम्मान गरिएको थियो । यस वर्षको एसईई परीक्षामा विद्यालयका मेधावी छात्र रोहन पौडेल र छात्रा दिक्षा रेग्मीले समान ३.९१ जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन् । एसईई परीक्षामा सहभागी १९ जना विद्यार्थी सबै उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका हुन् ।

विगत १६ वर्षदेखि लगातार शतप्रतिशत नतिजा हासिल गर्दै आएको विद्यालयले यस वर्ष पनि सो उपलब्धिलाई कायम राख्न सफल भएको छ । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका विद्यालयका प्रिन्सिपल रमेशकुमार कोइरालाले विद्यार्थीहरूको सफलताप्रति बधाई व्यक्त गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना समेत दिनुभयो ।

विद्यालयले विद्यार्थीहरूको निरन्तर मेहनत, अभिभावकको सहयोग तथा शिक्षकहरूको समर्पणका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।