इटहरी । “स्थानीय सरकारमा सामाजिक न्याय” भन्ने नारासहित दलित जनप्रतिनिधिहरूसँग नीति संवाद कार्यक्रम सुनसरीको इटहरीस्थित सत्संग भवनमा सम्पन्न भएको छ ।
स्थानीय तह दलित जनप्रतिनिधि सङ्घ नेपालद्वारा आयोजित उक्त कार्यक्रम दलित लाईभ्स म्याटर ग्लोबल एलायन्सको समन्वय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश सहयोग कार्यक्रम विराटनगर, कोशी प्रदेशको सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता स्थानीय तह दलित जनप्रतिनिधि सङ्घ नेपालका अध्यक्ष दीपक विश्वकर्माले गर्नुभएको थियो। उद्घाटन सत्रका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो रहनुभएको थियो भने समापन सत्रका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली रहनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना पनि उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा कोशी प्रदेश सभा सदस्य कमला दर्नाल, सपना परियार, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता चौधरी , गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मण बहादुर शाही लगायत विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा दलित जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। संवाद कार्यक्रममा स्थानीय तहमा सामाजिक न्यायको सुनिश्चितता, दलित समुदायको प्रतिनिधित्व, नीति निर्माणमा सहभागिता तथा समावेशी शासन प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको आयोजकले जनाएको छ ।
सहभागीहरूले स्थानीय सरकारमार्फत दलित समुदायको अधिकार सुनिश्चित गर्न व्यवहारिक नीति तथा कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा अध्यक्ष दीपक विश्वकर्माले कोशी प्रदेशबाट प्रादेशिक संरचना निर्माण गर्दै अभियानलाई अगाडि बढाइने बताउनुभयो। उहाँले प्रत्येक प्रदेश तथा जिल्लामा समेत समिति गठन गरेर संगठन विस्तार गरिने जानकारी दिनुभयो।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री रामप्रसाद महतोले दलित भएकै कारण हिनताबोध गर्न नहुने बताउनुभयो। उहाँले कोशी प्रदेश सरकार दलित समुदायको हकअधिकार र सामाजिक न्यायको पक्षमा दृढ रहेको उल्लेख गर्दै लामो समयदेखि रोकिएको कोशी प्रदेशको दलित ऐन छिट्टै कार्यान्वयनमा ल्याइने बताउनुभयो ।


