इनरुवा सुनसरी /३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा सुनसरीको इनरुवामा आयोजित कार्यशालामा सहभागी वक्ताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई समयअनुसार सुधार गर्दै जनतामुखी बनाउनुपर्नेमा जोड दिएका छन्। मदन भण्डारी स्मारक संरक्षक समाजद्वारा आयोजित कार्यक्रममा एमालेसँग आबद्ध नेता–कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

Screenshot_2026-05-24-12-25-08-69_a23b203fd3aafc6dcb84e438dda678b6

“नेपालको कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र समाधानका उपाय” विषयक कार्यशालामा सुबोधराज प्याकुरेलले कार्यपत्र प्रस्तुत गर्दै वाम आन्दोलनमा देखिएका नीतिगत, संगठनात्मक तथा कार्यशैलीगत समस्याबारे विश्लेषण गर्नुभयो। उहाँले अनुभव, इतिहास र कार्यदक्षताको समन्वयबाट मात्रै बलियो वाम शक्ति निर्माण सम्भव हुने बताउनुभयो।

Screenshot_2026-05-24-12-26-13-85_a23b203fd3aafc6dcb84e438dda678b6

कार्यपत्रमाथि टिप्पणी गर्दै डा. दिवाकर रेग्मीले कम्युनिस्ट आन्दोलन निरन्तर सुधारको आन्दोलन भएकाले जनताको भावना र आवश्यकताअनुसार अघि बढ्नुपर्ने धारणा राख्नुभयो। गणेशप्रसाद दाहालले पार्टीलाई विधि, पद्धति र अनुशासनका आधारमा सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै आन्दोलनलाई बलियो बनाउन बुद्धिजीवीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रमकी प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य भगवती चौधरीले मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदान स्मरण गर्दै सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्न सके एमाले पुनः देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुन सक्ने बताउनुभयो। उहाँले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै संगठनलाई थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो।

FB_IMG_1779604758472

कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री रामप्रसाद मेहेता, प्रदेशसभा सदस्यहरू रमेश बस्नेत र निरा खनाल, इनरुवा नगरपालिकाका पूर्वमेयर तथा एमाले नेता खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल लगायतले आन्दोलनलाई एकताबद्ध र जनमुखी बनाएर अघि बढाउनुपर्ने धारणा राख्नुभएको थियो।

Screenshot_2026-05-24-12-24-48-28_a23b203fd3aafc6dcb84e438dda678b6

युवा नेता लोकेश निरौलाले पछिल्लो समय निराश बनेका वाम कार्यकर्तामा उक्त कार्यक्रमले नयाँ ऊर्जा र उत्साह थपेको प्रतिक्रिया दिनुभयो। कार्यक्रमको अध्यक्षता मदन भण्डारी स्मारक संरक्षक समाजका अध्यक्ष सरोज बरालले गर्नुभएको थियो।

FB_IMG_1779604837352