सुनसरी / जडेज माबिमा बराहक्षेत्रमा महिलाहरूको स्वास्थ्य समस्यालाई लक्षित गर्दै निःशुल्क स्त्रीरोग तथा गुप्तरोग स्वास्थ्य जाँच शिविर सम्पन्न गरिएको छ। सेवा बचत तथा ऋण सहकारी संस्था को आयोजनामा तथा समता युथ ग्रुप र समता गुप्तरोग स्वास्थ्य सेवा संस्था को प्राविधिक सहयोगमा, साथै बराहक्षेत्र नगरपालिका को सहकार्यमा आयोजना गरिएको उक्त शिविर जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय मा सम्पन्न भएको हो।
ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा स्त्रीरोग, गुप्तरोग, पाठेघरको समस्या, पाठेघरको मुखको क्यान्सर लगायतका विषयमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। शिविरमा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सेवाग्राही कुमारी ढकाल निरौलाले गाउँघरका महिलाहरू स्वास्थ्य समस्याका बारेमा खुलेर कुरा गर्न अझै पनि हिच्किचाउने अवस्था रहेको बताउँदै यस्ता शिविरले धेरैलाई राहत मिल्ने बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नसकिएको अवस्थामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर महिलाहरूलाई स्वास्थ्य जाँच र आवश्यक जानकारी दिने कार्य सराहनीय भएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा बसेका महिला दिदीबहिनीहरूका लागि यस्ता शिविर निकै उपयोगी छन्। गुप्तरोग तथा पाठेघरको क्यान्सर जस्ता समस्याका बारेमा जानकारी लिन र उपचार गर्न सहज वातावरण बनेको छ। यस्तो कार्यक्रम सञ्चालन गर्ने संस्थाप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु।”

प्रदिप पोख्रेल ले सहकारी संस्था केवल वित्तीय कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरूमा सक्रिय रहेको बताउनुभयो। उहाँका अनुसार महिलाहरूमा बढ्दो स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै समता फाउन्डेसनसँग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।
उहाँले भन्नुभयो, “हामीले सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा आवश्यक पर्ने विभिन्न कार्यक्रम गर्दै आएका छौं। महिलाहरूको गुप्तरोग तथा पाठेघर सम्बन्धी समस्यालाई ध्यानमा राखेर यो स्वास्थ्य शिविर आयोजना गरेका हौं। ग्रामीण क्षेत्रका महिलाहरूले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।”
उहाँले इटहरीमा केन्द्रीय कार्यालय रहेको सहकारी संस्थाले सुनसरी जिल्लाका विभिन्न पाँच स्थानबाट सेवा प्रवाह गरिरहेको जानकारी दिँदै आगामी दिनमा पनि सामाजिक तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै राजिव बस्नेत ले महिलाहरूमा क्यान्सर सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अभियान सञ्चालन भइरहेको बताउनुभयो। उहाँका अनुसार संस्थाले कोशी प्रदेशसहित अन्य प्रदेशका विभिन्न जिल्लामा समेत स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम विस्तार गरिरहेको छ।

उहाँले भन्नुभयो, “हामीले इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, तेह्रथुम, धनकुटा लगायतका जिल्लामा यस्ता कार्यक्रम सञ्चालन गरिरहेका छौं। तीन वटा प्रदेशमा कार्यक्रम विस्तार गरिएको छ। विशेषगरी महिलाहरूमा पाठेघरको मुखको क्यान्सर लगायतका रोगबारे सचेतना फैलाउने र समयमै परीक्षण गर्न प्रेरित गर्ने उद्देश्यले निरन्तर काम गरिरहेका छौं।”
शिविरमा सहभागी चिकित्सक डाक्टर बसन्त अधिकारी ले विशेषगरी खानपिन र अस्वस्थ जीवनशैलीका कारण विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिने गरेको बताउनुभयो। उहाँका अनुसार शिविरमा मलद्वारसँग सम्बन्धित पाइल्स, फिस्टुला, फिसर लगायतका समस्या भएका बिरामीहरू उल्लेखनीय रूपमा आएका थिए।
उहाँले भन्नुभयो, “विशेष गरेर खानपिनको कारणले हुने विभिन्न समस्याहरू, मलद्वारमा देखिने पाइल्स, फिस्टुला, फिसर लगायतका रोगहरू धेरैमा देखिएको छ। यस्ता समस्याबाट बच्न खानपानमा ध्यान दिनु आवश्यक छ। शिविरमार्फत बिरामीहरूलाई आवश्यक उपचार तथा परामर्श सेवा प्रदान गरिएको छ।”
स्वास्थ्यकर्मीहरूले महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षण गर्न, कुनै समस्या देखिए लुकाएर नराख्न तथा समयमै उपचार गराउन आग्रह गरेका छन्। ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्य चेतनाको कमी, लाज तथा आर्थिक समस्याका कारण धेरै महिलाहरू उपचारबाट वञ्चित हुने गरेको भन्दै यस्ता शिविर प्रभावकारी हुने विश्वास लिइएको छ।
शिविरबाट २५० जना भन्दा बढीले ओपिडी सहितको सेवा सुविधा लिएको र आगामी दिनमा पनि विभिन्न क्षेत्रमा स्वास्थ्य सचेतना तथा निःशुल्क परीक्षण कार्यक्रमलाई निरन्तरता दिने आयोजकले बताएका छन्।


