इटहरी । कोशी प्रदेश स्तरीय अन्तर पालिका छोङ्खा साकेन्वा पुरुष तथा महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
भोजपुरको आमचोक गाउँपालिका ६ बयाङमा आयोजित उक्त प्रतोयोगिता कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेश सांसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा आइतबार समापन गरिएको हो । आमचोक गाउँपालिकाकाको प्रायोजन तथा खेलकुद विकास समिती आमचोकद्वारा आयोजित प्रतियोगितामा महिला र पुरुष गरि १७ समुहको सहभागिता रहेको थियो ।
पालिकाले विगत वर्ष देखि नै खेलकुद क्षेत्रको विकासको लागि बजेट विनियोजन गरिदै आएको र राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सफल भएको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले बताउनु भयो । साथै खेलकुद मार्फत युवाहरुलाई सहकार्य र सामुहिकता सँग जोड्ने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको उल्लेख गर्नुभयो । आइतबार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ आमचोक भलिबल टिमलाई पराजित गरि षडानन्द नगरपालिका भलिबल टिम विजेत बनेको हो ।
त्यस्तै महिला तर्फ आमचोक गाउँपालिका भलिबल टिमलाई पराजित गरि लेटाङ नगापालिका भलिबल टिम मोरङ उपाधी विजेता बनेको हो । प्रतियोगितामा उपाधी विजेता पुरुष तथा महिला भलिबल टिमलाई नगद २ लाख र उपविजेता टिमलाई नगद १ लाख पचास हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा खेल सामाग्री तथा आर्थिक सहयोग प्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको छ । आमचोकबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी सन्तोष राईलाई ४० हजार नगद सहित सम्मान गरिएको थियो । त्यस्तै प्रदेश स्तरका खेलाडी सन्देश बिष्ट, रोमन बस्नेत, रुमा श्रेष्ठ, आरुशा तामाङ, रोशिका बराईली एवं प्रशिक्षक दिनेश राई लाई जनही १५ हजार नगद सहिद सम्मान पत्र प्रदान गरिएको हो ।
आमचोकका नव उदयमान खेलाडी उदेश विष्टलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ ।


