विराटनगर । National Educational Consultancy Association (NECA) कोशी प्रदेशले शैक्षिक परामर्श क्षेत्रमा भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विदेश अध्ययन, शैक्षिक परामर्श तथा अन्तर्राष्ट्रिय शैक्षिक गतिशीलतासँग सम्बन्धित संस्थाहरूमा भइरहेको अनुगमन, अनुसन्धान तथा नियमनलाई कानुनअनुसार पारदर्शी र व्यवस्थित ढंगले अघि बढाउन आग्रह गरेको हो।

संघले नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षा निकाय तथा प्रशासनिक संयन्त्रबाट भइरहेका नियमन र अनुसन्धानका कार्यमा आफूहरूको सहयोग रहने स्पष्ट पारेको छ। विद्यार्थी तथा अभिभावकको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने, वित्तीय अनुशासन सुनिश्चित गर्ने तथा शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउने उद्देश्यमा संघ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

नेका कोशीले शिक्षा क्षेत्रको नाममा हुने ठगी, झुट्टा आश्वासन, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी र अभिभावकमाथि हुने कुनै पनि प्रकारको दुरुपयोगलाई स्वीकार गर्न नसकिने जनाएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार निष्पक्ष र प्रभावकारी कारबाही हुनुपर्नेमा संघले जोड दिएको छ।

त्यस्तै, कोशी प्रदेशमा शैक्षिक परामर्श व्यवसायलाई दर्ता, नवीकरण र नियमन गर्ने स्पष्ट कानुनी व्यवस्था अझै नबनेको भन्दै संघले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराएको उल्लेख गरेको छ। अन्य प्रदेशमा अनुमति प्रणाली लागू भइसकेको अवस्थामा कोशी प्रदेशमा अझै स्पष्ट नीति नआउँदा व्यवसायीहरू अन्योलमा परेको संघको भनाइ छ।

संघले सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई एउटै दृष्टिकोणबाट हेरेर अपराधीकरण गर्ने प्रवृत्तिप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ। अनुसन्धान गर्दा व्यक्तिगत जिम्मेवारी (Individual Liability) को सिद्धान्तमा केन्द्रित हुनुपर्ने र सम्पूर्ण व्यवसाय तथा क्षेत्रलाई सामूहिक रूपमा बदनाम गर्न नहुने संघको धारणा छ।

नेका कोशी प्रदेश अध्यक्ष सन्तोष कन्सकार द्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिकांश शैक्षिक परामर्श संस्थाहरू कानुनी प्रक्रिया, नियामकीय मापदण्ड तथा व्यावसायिक आचारसंहिताभित्र रही सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै नेपालको शैक्षिक परामर्श क्षेत्रले हजारौं विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न सहजीकरण गर्नुका साथै रोजगारी, सेवा क्षेत्र र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याएको जनाइएको छ।