इटहरी । आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको छनौट र व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरुले आग्रह गरेका छन् ।

सोमबार विराटनगरमा आयोजना गरिएको प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रदेश स्तरीय समिक्षा कार्यक्रममा सहभागिहरुले निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको छनौट गर्दा मतदाता संख्यालाई ध्यान दिनुपर्ने जिकिर गरेका थिए ।

उनीहरुले निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिताको पालनामा कडाइ गर्न पनि आग्रह गरेका छन् । निर्वाचन आयोगले आयोजना गरेको सो कार्यक्रममा बोल्दै निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले गत फागुन २१ गते भएको निर्वाचन शान्तिर्पूण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनैतिक दल, सुरक्षाकर्मी र मतदाताहरुले महत्वर्पूण भूमिका खेलेको बताउनु भयो ।

उहाँले समिक्षा कार्यक्रममा आएका सुझावहरुलाई निर्वाचन कानुन सुधारका रुपमा लिइने जानकारी दिनुभयो । सो कार्यक्रममा प्रतिनिधि सभा निर्वाचन २०८२ मा भएको खर्च, व्यवस्थापन र सुधारका कार्यहरु बारे जानकारी गराइएको थियो । निर्वाचनमा प्रति मतदाता २ सय ६३ रुपैया खर्च भएकाले आगामी निर्वाचनहरु थप मितव्ययी बनाउन निर्वाचन आयोगले गृह कार्य गरिरहेको जानकारी दिइएको थियो ।