इटहरी । मोरङको बेलबारी–२ मा रहेको प्रतिष्ठित शैक्षिक संस्था शिक्षा सन्देश इङ्गलिस स्कुलले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ।

स्कुलले मलेसियाको प्रसिद्ध लिंकन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरी यसै वर्षदेखि ’डिप्लोमा इन होटल म्यानेजमेन्ट’  कोर्ष सञ्चालन गर्न लागेको हो। विद्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै मलेसियाको प्रसिद्ध लिंकन विश्वविद्यालयबाट युरोस्किल टेक्निकल एण्ड भोकेसनल एकेडेमी मार्फत इजाजत प्राप्त गरी यो कार्यक्रम अन्तिम तयारीमा पुगेको प्रिन्सिपल राजेश खत्रीले जानकारी दिनुभयो । 

प्रिन्सिपल खत्रीले यस क्षेत्रमै पहिलोपटक यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट मान्यता प्राप्त कोर्ष भित्र्याउन पाउँदा विद्यालय परिवारले निकै हर्ष र गौरव महसुस गरेको जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपाल बस्नेतले अन्तर्राष्ट्रिय स्तरको ‘डिप्लोमा इन होटल म्यानेजमेन्ट’ कोर्ष सञ्चालन हुनु विद्यालयका लागि मात्रै नभई सम्पूर्ण बेलबारी क्षेत्रकै शैक्षिक विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

उहाँले गुणस्तरीय तथा व्यावसायिक शिक्षा मार्फत विद्यार्थीहरूलाई देशभित्रै अन्तर्राष्ट्रिय स्तरको अवसर प्रदान गर्ने विद्यालयको उद्देश्य रहेको उल्लेख गर्नुभयो । साथै, यस कार्यक्रमले होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । वि.सं. २०५० सालमा स्थापना भएको शिक्षा सन्देश स्कुल केवल बेलबारी नगरपालिकाकै मात्र नभएर यस क्षेत्रकै एक उत्कृष्ट ’शैक्षिक हब’ को रूपमा स्थापित छ। हाल यस विद्यालयमा कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ । 

विद्यालयमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडी, कानुन, र ट्राभल एण्ड टुरिजम जस्ता समसामयिक र व्यावहारिक विषयहरू पढाइँदै आएको छ। हाल १ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको यस स्कुलले बेलबारी क्षेत्रकै पहिलो ’प्लस टु’ को रूपमा समेत आफ्नो बलियो पहिचान बनाएको छ। यस विद्यालयबाट उत्पादित हजारौँ विद्यार्थीहरूले राष्ट्रिय स्तरका विभिन्न विधाहरूमा ख्याति कमाउन सफल भइसकेका छन्।