इटहरी। सुनसरीको इनरुवाका विप्लव घोष कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा नियुक्त हुनुभएको छ ।
प्रदेश सरकारले बुधबार राति उहाँलाई सदस्यसचिवमा नियुक्त गरेको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डमा विगत सात महिनादेखि सदस्यसचिव पद रिक्त रहेको थियो । इनरुवा नगरपालिका–३ निवासी घोष करातेका पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ । उहाँ लामो समयदेखि क्रिकेटसँग समेत आबद्ध रहँदै आउनुभएको छ ।
घोषले विदेशी टोलीसमेत सहभागी गराएर प्रत्येक वर्ष सुनसरीमा एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ । उहाँ साढे तीन दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आउनुभएको व्यक्ति हुनुहुन्छ । सामाजिक विकासमन्त्री रामप्रसाद महतोले प्रदेश खेलकुद ऐन, २०७६ तथा प्रदेश खेलकुद ९पहिलो संशोधन अध्यादेश–२०८३० को दफा ११ को उपदफा ९१० बमोजिम घोषलाई सदस्यसचिवमा नियुक्त गर्नुभएको हो । मन्त्रालयले जारी गरेको नियुक्तिपत्र अनुसार उहाँको कार्यकाल २०८३ जेठ १३ गतेदेखि लागु हुने गरी चार वर्षको रहने छ ।
प्रदेश सरकारले हालै प्रदेश खेलकुद ९पहिलो संशोधन० अध्यादेश–२०८३ जारी गर्दै बोर्डको संरचना विस्तार गरेको थियो । सोही अध्यादेशमार्फत उपाध्यक्षको सङ्ख्या बढाउनुका साथै सदस्यहरूको सङ्ख्या समेत विस्तार गरिएको हो । यसअघि बोर्डमा एक जना मात्र उपाध्यक्ष रहने व्यवस्था रहेकामा अब महिला र पुरुष गरी दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार महिला उपाध्यक्षमा एमालेबाट विराटनगरकी सन्तोषी श्रेष्ठ नियुक्त हुनुभएको छ भने पुरुष उपाध्यक्षमा नेपाली कांग्रेसका वसन्त अर्याल चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा एमालेका तर्फबाट विराटनगरकी बिना बस्नेत, केशव भट्टराई र किशोरविक्रम साह नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको कोटाबाट टीकाराम पुरी, रोशनी राई, दुर्गा कठायत, विश्वराज राई र बालजित राईलाई बोर्ड सदस्य बनाइएको छ ।


