इटहरी । धनकुटामा जारी १८औँ संस्करण सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा शुक्रबार  विर्तामोड युनाइटेड क्लब झापा र बेलबारी फुटबल क्लब मोरङबिच प्रतिस्पर्धा हुने भएको छ ।

धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत दिउँसो ४ बजेदेखि दुवै टोलीबीच खेल हुने आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ । यसअघि बिहीबार भएको पहिलो सेमिफाइनलमा सलहेश फुटबल क्लब सिराहालाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको थियो । मङ्गलबार भएको खेलमा सातदोबाटो युथ क्लब ललितपुरलाई १–० गोल अन्तरले हराउँदै बेलबारी फुटबल क्लब मोरङ विजयी भएको थियो ।

त्यसैगरी मङ्गलबारकै खेलमा जर्जियन फुटबल क्लब भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको थियो भने सोमबार भएको खेलमा गाईघाट युनाइटेड फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै झापा विजयी भएको थियो । उद्घाटन खेलमा आइतबार राष्ट्रिय जागृति क्लब सुनसरीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सलहेश युवा क्लब सिराहा विजयी भएको थियो ।

आगामी फाइनल खेलमा आयोजक धनकुटा र आजको खेलको विजेता टोलीबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपियाँ र उपविजेता टोलीले तीन लाख रुपियाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई ६ हजार रुपियाँ प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडी तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । आठ टोलीको सहभागिता रहेको प्रतियोगिता जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन भइरहेको छ ।

विसं २०५५ सालदेखि सुरु भएको यो प्रतियोगिता केही वर्ष स्थगनपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको हो । सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा आयोजित यस प्रतियोगितामा सुरुवाती वर्षहरूमा कोशी अञ्चल तथा पछि पूर्वाञ्चल विकास क्षेत्रका टोलीहरूको सहभागिता रहेको थियो । श्रेष्ठलाई विसं २०३५ सालमा मृत्युदण्ड दिइएको थियो भने उनलाई सरकारले २०७४ सालमा सहिद घोषणा गरेको हो ।